१२ जेष्ठ, सुर्खेत ।
गुर्भाकोट नगरपालिका वडा नं. २ अन्तर्गत रहेको मालारानी खरिगैरा खानेपानी स्किम नं. ३ को मुहान तथा ट्याङ्की क्षेत्रमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको छ । प्रगतिशील स्वास्थ्य आमा समूहको आयोजनामा सञ्चालन गरिएको उक्त अभियानमा स्थानीय बासिन्दा, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।
मालारानी स्वास्थ्य चौकीका सिअहेब मोतिकला शर्माको नेतृत्वमा तथा प्रगतिशील स्वास्थ्य आमा समूहकी अध्यक्ष एवं महिला स्वास्थ्य स्वयंसेविका संगिता पराजुलीको समन्वयमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियान अन्तर्गत खानेपानीको मुख्य मुहानसँगै तीन वटा पानी सङ्कलन ट्याङ्कीको समेत सफाइ गरिएको बताइएको छ ।
गर्मी मौसम सुरु भएसँगै हावाहुरीका कारण पातपतिङ्गर तथा फोहोर मुहानमा जम्मा भएर पानी दूषित हुने जोखिम बढेको भन्दै सरसफाइ अभियान थालिएको सिअहेब मोतिकला शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दूषित पानीका कारण झाडापखाला, टाइफाइड, जन्डिस लगायतका पानीजन्य रोग फैलिन सक्ने भएकाले समयमै सरसफाइ गर्नु आवश्यक रहेको हो ।
उहाँले स्वच्छ पानी नै स्वस्थ जीवनको आधार भएकाले पानी फिल्टर गरेर वा उमालेर मात्र पिउन सबैलाई आग्रह गर्नुभयो । “पानी हाम्रो दैनिक जीवनको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो । यदि खानेपानी नै अस्वच्छ भयो भने त्यसले सम्पूर्ण परिवारको स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ,” उहाँले भन्नुभयो ।
त्यस्तै प्रगतिशील स्वास्थ्य आमा समूहकी अध्यक्ष तथा महिला स्वास्थ्य स्वयंसेविका संगिता पराजुलीले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न यस्ता अभियान प्रभावकारी हुने बताउनुभयो । उहाँले मानिसको जीवनमा सबैभन्दा बढी प्रयोग हुने वस्तु पानी भएकाले स्वच्छ पानीको प्रयोगले धेरै रोगबाट बच्न सकिने उल्लेख गर्नुभयो ।
“स्वस्थ समाज निर्माणका लागि स्वच्छ खानेपानी अनिवार्य छ । घरघरमा सुरक्षित पानी प्रयोग गर्ने बानी बसाल्न सके धेरै रोग न्यूनीकरण गर्न सकिन्छ,” उहाँले बताउनुभयो ।
स्थानीयवासीहरूले समेत सरसफाइ अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । लामो समयपछि मुहान तथा ट्याङ्की सफा गरिँदा पानीको गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ । अभियानका क्रममा मुहान वरपरको झाडी फडानी, फोहोर व्यवस्थापन तथा पानी संरक्षणसम्बन्धी जनचेतनामूलक सन्देश समेत प्रवाह गरिएको थियो ।
मालारानी खानेपानी योजनाबाट हाल करिब १ सय ५० घरधुरी लाभान्वित हुँदै आएका छन् । स्थानीय तह, स्वास्थ्य संस्था तथा आमा समूहको संयुक्त पहलमा सञ्चालन गरिएका यस्ता अभियानले समुदायमा सरसफाइ र स्वास्थ्यप्रतिको चेतना बढाउनुका साथै पानीजन्य रोग नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
































