४ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिकाले ‘क्षयरोग मुक्त पालिका’ बनाउने उद्देश्यसहित समुदायस्तरमा सञ्चालन गरिरहेको सक्रिय खोज अभियानलाई तीव्र बनाएको छ। नगर स्वास्थ्य शाखाले पछिल्ला चार वर्षदेखि विभिन्न योजना तथा रणनीतिमार्फत क्षयरोग नियन्त्रण तथा रोकथामका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत पनि नगर स्वास्थ्य शाखाले समुदायस्तरमै पुगेर क्षयरोगको सक्रिय खोज तथा परीक्षण अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत हालसम्म वडा नं. १, २, ३, ६, ७, ८, ९, ११ र १३ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

उक्त कार्यक्रममार्फत शंकास्पद करिब १४ सय व्यक्तिको क्षयरोग परीक्षण गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ। परीक्षणका क्रममा हालसम्म गुर्भाकोट नगरपालिकाभित्र ५१ जना क्षयरोग बिरामी दर्ता भएका छन्। बाँकी वडाहरूमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ। नगर स्वास्थ्य शाखाका अनुसार अभियानअन्तर्गत दैनिक रूपमा स्वास्थ्य संस्थाबाट खकार ढुवानी, संक्रमित व्यक्तिको सम्पर्क परीक्षण तथा बिरामीको नियमित फलोअपसमेत भइरहेको छ। साथै उपचाररत क्षयरोग बिरामीलाई पोषणयुक्त कोसेली वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार समुदायमै पुगेर गरिने सक्रिय खोज अभियानले समयमै बिरामी पहिचान गर्न र संक्रमण फैलिन नदिन महत्वपूर्ण भूमिका खेलेको छ। नियमित औषधि सेवन र समयमै परीक्षण गरे क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
































