४ जेठ, सुर्खेत-
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बस्दै आउनुभएका सल्यानको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले सोमबार धर्ना फिर्ता लिनुभएको छ। आफूहरूले उठाएका मागप्रति मुख्यमन्त्री कार्यालय सकारात्मक बनेर सम्बन्धित निकायलाई पत्राचार गरेपछि धर्ना स्थगित गरेर फर्किएको उहाँले बताउनुभएको छ।

वडाध्यक्ष रिजालले घुईयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा कालोपत्रे, नेपाल टेलिकमको टावर निर्माण र गाउँमा विद्युत् विस्तारको काम तत्काल अघि बढाउनुपर्ने माग राख्दै मुख्यमन्त्री कार्यालय बाहिर झुल टाँगेर धर्ना दिँदै आउनुभएको थियो। धर्नामा वडाध्यक्ष रिजालसँगै वडा सदस्य तीर्थबहादुर राना, वडा प्राविधिक मनोज बास्कोटा तथा सामाजिक अभियन्ता हिमाल पुन मगर समेत सहभागी हुनुहुन्थ्यो। उहाँहरू विगत चार दिनदेखि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउन मुख्यमन्त्री कार्यालय परिसरमा धर्नामा बस्नुभएको थियो।

मुख्यमन्त्री कार्यालयका अधिकारीहरूले मागसम्बन्धी विषयमा सम्बन्धित निकायलाई पत्राचार गरिदिएपछि आफूहरूलाई केही आशा जागेको वडाध्यक्ष रिजालले बताउनुभयो। उहाँले जनताको आधारभूत आवश्यकता पूरा गराउन स्थानीय तहले पटक–पटक पहल गर्दा पनि काम अघि नबढेपछि बाध्य भएर धर्नामा बस्नुपरेको उल्लेख गर्नुभयो। स्थानीयवासीले समेत सडक, सञ्चार र विद्युत् जस्ता आधारभूत सेवाको अभावले दैनिक जीवन प्रभावित हुँदै आएको भन्दै सरकारसँग तत्काल काम अघि बढाउन माग गरेका छन्।
































