६ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा निःशुल्क मोतियाबिन्दु छानोट तथा आँखा शिविर सञ्चालन गरिने भएको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार विभिन्न वडामा सञ्चालन हुने शिविरमार्फत स्थानीय नागरिकलाई निःशुल्क आँखा परीक्षण, औषधि वितरण तथा आवश्यक परे शल्यक्रिया सेवा समेत उपलब्ध गराइनेछ।

नगरपालिकाका अनुसार शिविर २०८३ जेठ ८ गतेदेखि १८ गतेसम्म विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीहरूमा सञ्चालन हुनेछ। शिविर अन्तर्गत जेठ ८ गते गुर्भाकोट–३ को स्वास्थ्य चौकी धारापानी, १० गते वडा नं. ५ को आधारभूत स्वास्थ्य केन्द्र पोखरीपाटा, १० गते वडा नं. ६ को आधारभूत स्वास्थ्य केन्द्र बडाखोली, ११ गते वडा नं. २ को स्वास्थ्य चौकी मालारानी, १२ गते वडा नं. ४ को स्वास्थ्य चौकी सहारे, १३ गते वडा नं. ८ को आधारभूत स्वास्थ्य केन्द्र बोटेचौर, १४ गते वडा नं. १३ को स्वास्थ्य चौकी गुमी, १५ गते वडा नं. ११ को स्वास्थ्य चौकी घुमखहरे तथा १७ र १८ गते आँखा उपचार केन्द्र मैहलकुनामा सेवा प्रदान गरिनेछ।

शिविरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नाम दर्ता गरिने व्यवस्था गरिएको छ भने नाम दर्ता, आवश्यक औषधि तथा चस्मा निःशुल्क उपलब्ध गराइने जनाइएको छ। साथै मोतियाबिन्दुको समस्या पहिचान भई शल्यक्रिया गर्नुपर्ने बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाले सबै नागरिकलाई समयमै आँखा परीक्षण गराई आँखाको स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ।
































