९ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिकामा “स्वस्थ गाउँ/शहर पैरवी कार्यक्रम” सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतद्वारा आयोजित तथा नगरपालिकासँगको समन्वयमा वडा नम्बर ८ सिटीहलमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख हस्त पुन ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख तथा कर्मचारी, नगर उपप्रमुख मैना बिक, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुख, समाजसेवी,शिक्षक,विद्यार्थी बुद्धिजीवी तथा व्यापारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख रविन खड्काले स्वस्थ गाउँ तथा स्वस्थ शहर अवधारणासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले विश्व स्वास्थ्य संगठन (WHO) बाट प्रमाणीकरण भएपछि मात्र कुनै नगरलाई स्वस्थ गाउँ/शहर घोषणा गर्न सकिने प्रावधान रहेको जानकारी दिनुभयो। साथै स्वस्थ शहर निर्माणका लागि दीर्घकालीन योजना, सरसफाइ, पोषण, स्वास्थ्य सेवा पहुँच र नागरिक सचेतना अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्तीले गर्नुभएको थियो।

कार्यक्रममा स्वस्थ गाउँ तथा शहर पैरवी कार्यक्रमका समस्या र चुनौतीबारे सरोकारवालाबीच बृहत् छलफल भएको थियो। सहभागीहरूले स्वस्थ शहर निर्माणका लागि स्वस्थ जीवनशैली अनिवार्य रहेकोमा जोड दिएका थिए। छलफलका क्रममा बालविवाह न्यूनीकरण, स्वच्छ खानेपानीको सुनिश्चितता, लागूऔषध नियन्त्रण, पोषणमैत्री कृषि प्रणाली, फोहोरमैला व्यवस्थापन, अव्यवस्थित बसोबास नियन्त्रण, फुटपाथ व्यवस्थापन, गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा, सुरक्षित मातृत्व तथा वातावरण संरक्षणका विषयमा विशेष ध्यान दिनुपर्ने धारणा राखिएको थियो। त्यसैगरी हरेक घरमा पोषणयुक्त खानाको पहुँच, सुत्केरी महिलालाई भिडियो एक्सरे सेवामा सहजता, नालामा पानी जम्ने समस्या समाधान, सडक छेउ तथा जथाभावी फोहोर जलाउने कार्य नियन्त्रण गर्नुपर्ने विषयमा समेत सहभागीहरूले सुझाव दिएका थिए।
हालसम्म धुलिखेल नगरपालिका मात्र स्वस्थ शहरको रूपमा घोषणा भएको छ भने चन्दननाथ नगरपालिका घोषणाको प्रक्रियामा रहेको अवस्थामा गुर्भाकोट नगरपालिकाले पनि स्वस्थ शहर अभियानको औपचारिक सुरुवात गरेको जनाएको छ। नगर उपप्रमुख मैना बिक ले स्वस्थ शहर निर्माण सरकार वा नगरपालिका एक्लैले सम्भव नहुने भन्दै नागरिकको व्यवहार परिवर्तन र सामूहिक सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले स्वच्छता, पोषण, महिला तथा बालबालिकाको स्वास्थ्य र सुरक्षित वातावरण निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो।
प्रमुख अतिथि घनश्याम भण्डारी ले स्वस्थ समाज निर्माणका लागि स्थानीय तहको सक्रियता महत्वपूर्ण हुने बताउँदै स्वास्थ्य, शिक्षा, वातावरण र सामाजिक चेतनालाई एकसाथ अघि बढाउनुपर्ने धारणा राख्नुभयो। उहाँले स्वस्थ शहरको अवधारणा केवल पूर्वाधारसँग मात्र नभई नागरिकको जीवनशैली, सरसफाइ र सामाजिक संस्कारसँग जोडिएको विषय भएको उल्लेख गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख हस्त पुन ले गुर्भाकोटलाई भविष्यमा स्वस्थ र नमुना शहरका रूपमा विकास गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको बताउनुभयो। उहाँले नगरपालिकाले स्वास्थ्य, सरसफाइ, खानेपानी, वातावरण संरक्षण र पोषण सुधारका क्षेत्रमा योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिँदै नागरिकको साथ र सहकार्यबिना अभियान सफल हुन नसक्ने बताउनुभयो। उहाँले सबै पक्षलाई साझा जिम्मेवारीबोधका साथ अभियानमा जोडिन आग्रह गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
































