३१ वैशाख, सुर्खेत-
खेलकुद क्षेत्रको विकास तथा विद्यालय तहबाटै विद्यार्थीहरूमा खेलप्रति रुचि बढाउने उद्देश्यले कालिकोटको महावै गाउँपालिकामा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। महावै गाउँपालिका अन्तर्गत सञ्चालित ओदा फाउन्डेसनले गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयहरूका लागि विभिन्न खेल सामग्री उपलब्ध गराएको हो। फाउन्डेसनले ब्याडमिन्टन, क्रिकेट, भलिबल, फुटबल, पम्प तथा ज्याभ्लिन थ्रोलगायतका सामग्री गाउँपालिकाका शिक्षा शाखा प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ।

विद्यालय स्तरमै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्यसहित सामग्री वितरण गरिएको फाउन्डेसनले जनाएको छ। कार्यक्रममा ओदा फाउन्डेसनका CEO करण सिंहसहित फाउन्डेसन परिवारप्रति गाउँपालिकाले हार्दिक धन्यवाद व्यक्त गरेको थियो। स्थानीय तहमा खेल पूर्वाधार र सामग्रीको अभाव भइरहेका बेला यस्तो सहयोगले विद्यार्थीहरूको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
































