२३ वैशाख, सुर्खेत-
दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष टोपबहादुर वि.सी.ले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्ती माथि सिसाको गिलास प्रहार गरेको घटना सार्वजनिक भएको छ। अध्यक्ष वि.सी.ले आफ्नै कार्यकक्षमा अधिकृत घर्तीलाई लक्षित गरी गिलास प्रहार गरेको घटना बाहिरिएको हो ।
कार्यालयको नियमित कामकाजकै क्रममा सामान्य विषयमा विवाद उत्पन्न भएपछि घटना भएको बताइएको छ। उक्त समयमा अध्यक्षको कार्यकक्षमा अन्य कर्मचारीहरू समेत उपस्थित रहेका थिए। प्रहारबाट अधिकृत घर्तीलाई सामान्य चोट लागेको जनाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत घर्तीले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै अध्यक्षबाट आफूमाथि गिलास प्रहार भएको र आफू घाइते भएको बताउनु भएको छ। उहाँले घटनाको जानकारी प्रमुख जिल्ला अधिकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई गराइसकेको उल्लेख गर्नु भएको छ। साथै, सुरक्षाको कारण सोही स्थानमा रही काम गर्न नसक्ने अवस्थाबारे समेत मन्त्रालयलाई अवगत गराएको उहाँले बताउनु भएको छ। यस विषयमा अध्यक्षसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।
































