
४ वैशाख, सुर्खेत-
भेरीगंगा नगरपालिकामा ८०५ जना अपांगता भएका व्यक्तिहरूको तथ्यांक अद्यावधिक गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ठाडाका अनुसार अपांगता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूको जीवनस्तर उकास्ने उद्देश्यले यो कार्य सम्पन्न गरिएको हो।

नेपालको संविधान तथा अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको उद्देश्य, मर्म र भावनाअनुरूप भेरीगंगा नगरपालिकाको आर्थिक सहयोगमा अपांगता जागरण केन्द्र, छिन्चुको आयोजनामा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ। भेरीगंगा नगरपालिकाको आर्थिक सहयोग र अपांगता जागरण केन्द्र ,छिन्चुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

नगरपालिकाका १३ वटै वडाबाट छनोट गरिएका २८ जना अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी क्षमता विकास तालिम प्रदान गरिने तयारी गरिएको उपप्रमुख धनसरा बोहोराले जानकारी दिनु भयो । उहाँका अनुसार तालिमपछि सहभागीहरूको दैनिकीमा सकारात्मक परिवर्तन आउने, सीप तथा आत्मविश्वास वृद्धि हुने र उनीहरू आत्मनिर्भर बन्दै सहज जीवनयापन गर्न सक्षम हुने विश्वास लिइएको छ। यस कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूलाई समाजमा सक्रिय र सम्मानजनक सहभागिता गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।





























