४ वैशाख,सुर्खेत-
सिम्ता गाउँपालिकाले कृषकलाई लक्षित गर्दै ५ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको पशुपन्छी विकास शाखाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार शिविर सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार शिविर वैशाख ८ गतेदेखि १२ गतेसम्म विभिन्न वडामा सञ्चालन हुनेछ।

शिविरमा सिम्ता गाउँपालिकाका पाँच वटा वडामा विभिन्न स्थानहरूमा सेवा प्रदान गरिनेछ। जसअनुसार वैशाख ८ गते सिम्ता २ काफलकोट वडा कार्यालय,९ गते सिम्ता ९ खानीखोला वडा कार्यालय, १० गते सिम्ता ८ जुम्ले अम्रै ,११ गते सिम्ता ७ बैसपानी र १२ गते सिम्ता ६ घोरेरीमा शिविर संचालन हुनेछ। शिविरमा कृषकका पशुहरूको लागि निःशुल्क रेविज विरुद्ध खोप सेवा, निःशुल्क पशुपन्छी औषधि वितरण, निःशुल्क उपचार सेवा तथा निःशुल्क परामर्श सेवा उपलब्ध गराइनेछ। शिविरमा निशुल्क वाली उपचार सेवा ,निशुल्क विषादी वितरण र निशुल्क परामर्श सेवा प्रदान गरिनेछ।

शिविर बिहान १०:३० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिने जनाइएको छ।थप जानकारीको लागि पुजा गुरुङ लाई ९८४६८५७७२९ सम्पर्क गर्न सकिनेछ। गाउँपालिकाले सबै कृषकहरूलाई आफ्नो पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचारका लागि तोकिएको स्थान र समयमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। यस प्रकारका शिविरले ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य सुधार, उत्पादन वृद्धि तथा कृषकको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




























