
२४ चैत,सुर्खेत-
हरियाली कृषि बजार सहकारी संस्था लिमिटेड, गुर्भाकोट–२ मालारानीले पशुपन्छी विकास निर्देशनालय, सुर्खेतको सहलगानीमा सञ्चालन गरेको भैंसी प्रबर्द्धन कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। कार्यक्रममार्फत गरिएको लगानी, खर्च विवरण र उपलब्धिबारे खुला रूपमा जानकारी गराउँदै सहकारीले पारदर्शिता र उत्तरदायित्वको अभ्यास प्रस्तुत गरेको हो। सहकारीका अध्यक्ष नन्दलाल भुषालको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृषभ गुरागाईं विशेष अतिथि रहनुभएको कार्यक्रममा वडा अध्यक्ष नोख बहादुर वली, पशु सेवा अधिकृत कृष्ण चपाई, वरिष्ठ लेखापाल जगदीश बोहोरा तथा गुर्भाकोट पशु शाखाका डाक्टर देवेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष भुषालले भैंसी प्रबर्द्धन कार्यक्रमअन्तर्गत भएको आय–व्ययको विस्तृत विवरण सार्वजनिक गर्दै कुल ४० लाख ७३ हजार ४ सय १४ रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पशुपन्छी विकास निर्देशनालयबाट २० लाख रुपैयाँ अनुदान प्राप्त भएको र किसानबाट २० लाख ७३ हजार ४ सय १४ रुपैयाँ संकलन गरिएको थियो। उक्त रकममध्ये भैंसी खरिदमा ३८ लाख ७३ हजार, ढुवानीमा ४० हजार ५ सय, बीमा खर्चमा ४५ हजार ४ सय १४, मिल्क एनालाइजर खरिदमा १ लाख ५ हजार, होर्डिङ बोर्डमा १ हजार तथा सूचना प्रकाशनमा २ हजार ५ सय रुपैयाँ खर्च गरिएको जानकारी दिइयो। प्रस्तुत खर्च विवरण कार्यक्रममै सर्वसम्मत रूपमा अनुमोदन गरिएको सहकारीले जनाएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख हस्त पुनले सहकारी र निर्देशनालयबीचको सहकार्यलाई उदाहरणीय बताउँदै किसानको आय वृद्धि र व्यवसायिक पशुपालन प्रवर्द्धनमा यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो। “स्थानीय तह सधैं किसानको साथमा छ। उत्पादन वृद्धि, बजारीकरण र आधुनिक प्रविधिको पहुँच विस्तारमा नगरपालिका प्रतिबद्ध छ,” उहाँले भन्नुभयो। उहाँले किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। यस्तै वडा अध्यक्ष नोख बहादुर वलीले किसानका वास्तविक आवश्यकतामा आधारित कार्यक्रमहरू ल्याउन वडा कार्यालय सधैं सक्रिय रहेको बताउँदै भैंसी प्रबर्द्धन कार्यक्रमले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। “किसानलाई केन्द्रमा राखेर योजना बनाउने हाम्रो प्राथमिकता हो,” उहाँले जोड दिनुभयो।

त्यसैगरी पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृषभ गुरागाईंले कार्यक्रमको अनुगमन गर्दै कार्यान्वयन पक्ष पारदर्शी र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिनुभयो। “सहकारीमार्फत सञ्चालन भएका यस्ता कार्यक्रमले लक्ष्यित वर्गमा प्रत्यक्ष प्रभाव पार्छन्। यहाँ गरिएको काम नमुना र अनुकरणीय देखिएको छ,” उहाँले भन्नुभयो। उहाँले पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउन राज्यले निरन्तर नीति तथा कार्यक्रममार्फत सहयोग गरिरहेको पनि स्पष्ट पार्नुभयो।
कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरूले समेत सहकारीको सक्रियता, पारदर्शी अभ्यास र किसानमुखी पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सहकारीका कोषाध्यक्ष हरिप्रसाद ढकालले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय किसान, सहकारी सदस्य तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।




























