१४ चैत, सल्यान-
सल्यानको कालीमाटी गाउँपालिका–५ काल्चेमा पोषणमैत्री वडा घोषणापछि यसको दिगोपनालाई केन्द्रमा राख्दै नागरिक बहस कार्यक्रम सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकार तथा कर्णाली प्रदेश योजना आयोग, वीरेन्द्रनगर सुर्खेतको आयोजनामा सम्पन्न कार्यक्रमले घोषणा पछिको कार्यान्वयन, निरन्तरता र प्रभावकारितामाथि व्यापक छलफल गरेको हो।

कार्यक्रममा बहु-क्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत वडा स्तरमा भएका प्रयास र उपलब्धिबारे कालिमाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं पोषण फोकल पर्सन गोरख बहादुर थापाले जानकारी गराउनु भएको थियो । उहाँले पोषणमैत्री वडा घोषणापछि पनि विभिन्न सूचकहरूलाई कायम राख्न स्थानीय तहले नीतिगत तथा संस्थागत तयारीसहित काम गरिरहेको समेत बताउनुभयो।

बहसमा गाउँपालिका अध्यक्ष दान बहादुर खत्री, उपाध्यक्ष सनसिल्ता वली डीसी, प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली, वडा नं. ५ का वडाध्यक्ष टोप बहादुर कार्की, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, सदस्य अशोकनाथ योगी, प्रशासकीय अधिकृत गोपाल केसी तथा युनिसेफ सुर्खेतका प्रतिनिधि शेर सिंह दहित लगायतले धारणा राख्नुभएको थियो।

कार्यक्रममा सहभागी नागरिकहरूले “घोषणा भए पनि व्यवहारमा अपेक्षित काम नभएको”, “आगामी योजना के छन्?”, “१००० दिनका आमाका लागि के विशेष कार्यक्रम ल्याइन्छ?”, “बालविवाह र लागूपदार्थ दुर्व्यसन न्यूनीकरणमा के पहल छन्?” जस्ता प्रश्नहरू उठाएका थिए।
प्रश्नहरूको जवाफ दिँदै वक्ताहरूले दिगोपनाका लागि साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको, स्थानीय तहले नीति निर्माण गरी कार्यान्वयन गरिरहेको तथा घरपरिवार स्तरमा करेसाबारी (बगैंचा) प्रवर्द्धन, दिवा खाजा कार्यक्रम, खानेपानी तथा सरसफाइ सुधारजस्ता गतिविधि निरन्तर अगाडि बढाइएको बताएका छन्। वडा तहबाट १००० दिनका आमाहरूलाई पोषण कोसेली वितरण, करेसाबारी निर्माणमा प्रोत्साहन तथा कृषिमा किसानलाई आकर्षित गर्न थप कार्यक्रम ल्याइने समेत जनाइएको छ। साथै, उद्घाटनजस्तो तामझाम नदेखिए पनि घोषणा पश्चातका कामहरू निरन्तर भइरहेको र अझ प्रभावकारी बनाउन पहल जारी रहेको स्पष्ट पारिएको छ।

युनिसेफले पोषणसँगै खानेपानी तथा सरसफाइ क्षेत्रमा प्राविधिक सहयोग, क्षमता विकास र अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कर्णाली प्रदेश योजना आयोगले पनि राष्ट्रिय योजना आयोगमार्फत आउने कार्यक्रमहरू सिधै स्थानीय तहसम्म पुर्याउँदै पोषण क्षेत्रमा थप सुदृढीकरण गरिने उल्लेख गरेको छ। उक्त वडा ४९ वटा सूचक पूरा गरी पोषणमैत्री वडा घोषणा भएको हो। कार्यक्रममा दिगोपनाका लागि स्थानीय सरकार, प्रदेश तथा साझेदार निकायबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।



























