

९ चैत,सुर्खेत-
गुर्भाकोट नगरपालिकाको समन्वयमा ली-बर्ड र Welthungerhilfe (WHH) को साझेदारीमा सञ्चालित ‘प्रारम्भ परियोजना’ अन्तर्गत नगरपालिकाभित्रका उच्च जोखिम क्षेत्रका समुदायहरूलाई विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि अत्यावश्यक सामग्री वितरण गरिएको छ। यस कार्यक्रममार्फत विशेषगरी पहिरो जोखिममा रहेका बस्तीहरूलाई लक्षित गरी सामुदायिक स्तरमै विपद् व्यवस्थापन क्षमतालाई सुदृढ बनाउने प्रयास गरिएको हो।

परियोजनाअन्तर्गत काल्चे, काउले, खोलाढाब, पोखरिपाटा र लेखबडाखोली लगायतका ५ वटा उच्च पहिरो जोखिम क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई सामग्री हस्तान्तरण गरिएको छ। वितरण गरिएका सामग्रीमा स्ट्रेचर, प्राथमिक उपचार किट बक्स तथा औषधि सामग्री, बाल्टी, डोरी, बेल्चा, गैती, खन्ती, क्रोबार लगायतका उपकरणहरू रहेका छन्। यी सामग्रीहरूले खोज तथा उद्धार, प्राथमिक उपचार तथा आपतकालीन प्रतिकार्यलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई सुदृढ र सक्षम बनाउँदै समुदायलाई नै विपद् पूर्वतयारी तथा प्रतिकार्यमा अग्रसर गराउनु रहेको छ। स्थानीय स्तरमै स्रोतसाधन उपलब्ध गराई विपद् पूर्वतयारि तथा प्रतिकार्यमा क्षेमता विकास गर्नु यस पहलको प्रमुख लक्ष्य हो।

यसै कार्यक्रमअन्तर्गत ‘प्रारम्भ परियोजना’ ले समुदायका व्यक्तिहरूको विपद् व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्न समुदायस्तरमै नमुना अभ्यास (डेमो ड्रिल) सञ्चालन गर्दै आएको छ। यस्ता अभ्यासले आपतकालीन अवस्थामा कसरी सुरक्षित रूपमा प्रतिक्रिया जनाउने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गर्ने भएकाले समुदायको तयारी र आत्मविश्वास बढाउने विश्वास लिइएको छ।यस पहलले गुर्भाकोट नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै स्थानीय समुदायलाई सक्षम, सचेत र लचिलो बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
































