
८ चैत,सुर्खेत-
गुर्भाकोट नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण तथा परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सञ्चालन गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। प्रशिक्षक रमा भण्डारीको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा पालिकाभित्र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको वर्तमान अवस्थाको विस्तृत मूल्याङ्कन गरिएको थियो। चैत ५ गतेदेखि सुरु भएको कार्यक्रम ७ गते सम्पन्न भएको हो। कार्यक्रमअन्तर्गत १०० वटा सूचकलाई ५ वटा क्षेत्र र २२ वटा उपक्षेत्रमा विभाजन गरी विश्लेषण गरिएको थियो। सोही आधारमा गरिएको मूल्याङ्कनमा गुर्भाकोट नगरपालिकाले १०० पूर्णाङ्कमध्ये ६२ अंक प्राप्त गरेको जानकारी दिइएको छ।

महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुक बिमला विकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य पछाडि परेका वर्ग तथा समुदाय तथा अवसरबाट वञ्चित समूहलाई समानताको आधारमा अवसर सुनिश्चित गर्नु रहेको छ। कार्यक्रमको समापनमा नगर प्रमुख हस्त पुनले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै सामूहिक प्रयास र सहकार्यबाट मात्र समग्र विकास सम्भव हुने धारणा राख्नुभयो। उहाँले आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सबै पक्षबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।































