२ चैत, सुर्खेत-
गुर्भाकोट नगरपालिकामा धार्मिक अगुवा तथा सामुदायिक नेताहरूसँग सामाजिक मान्यता र व्यवहारका विषयमा नगरपालिका स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। समुदायमा विद्यमान हानिकारक सामाजिक प्रचलनबारे छलफल गर्दै आमा र बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सुन्दर नेपाल संस्थाका प्रतिनिधि मनु सापकोटाले कार्यक्रमको उद्देश्य र गतिविधिबारे जानकारी गराउँदै संस्थाले पोषण क्षेत्रमा पुर्याउँदै आएको योगदानबारे चर्चा गर्नुभयो। उहाँले आमा र बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित पोषणका विषयमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रमका प्रमुख उद्देश्यहरूमा परम्परागत उपचारक र सामुदायिक नेताहरूले आमा तथा बालबालिकाको स्वास्थ्यमा बाधा पुर्याउने हानिकारक सामाजिक मान्यताहरू पहिचान गर्ने, बालविवाह, खाद्य निषेध तथा लिङ्ग–आधारित भेदभावजस्ता अभ्यासले स्वास्थ्य र पोषणमा पार्ने नकारात्मक प्रभावबारे सचेतना फैलाउने तथा त्यस्ता सामाजिक–सांस्कृतिक व्यवहार न्यूनीकरणका लागि कार्ययोजना तयार गर्ने रहेका थिए।

संवाद कार्यक्रममा धार्मिक गुरु/अगुवा, परम्परागत उपचारकर्ता, सामाजिक अगुवा, बाल क्लब तथा युवा क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सुन्दर नेपाल संस्थाका अध्यक्ष माया सापकोटा, गुर्भाकोट नगरपालिका प्रतिनिधि सरिता शाही, प्रदीप सुनार, हिरा बहादुर नेपाली, नगर उपप्रमुख मैना विक, प्रशासन शाखा प्रमुख कृष्णप्रसाद शर्मा, पशु शाखा प्रमुख देवेन्द्र घिमिरे, वरिष्ठ लेखा अधिकृत अमृत खड्का, नर्सिङ अधिकृत यज्ञ पन्त, महिला तथा बालबालिका शाखा प्रमुख विमला विक, धार्मिक अगुवा हिरा शाही लगायतको उपस्थिति रहेको थियो।

संवादका क्रममा प्यानल डिस्कसन पनि आयोजना गरिएको थियो। प्यानलमा नगर उपप्रमुख मैना विक, सामाजिक अभियन्ता ज्ञानु भुसाल, जनस्वास्थ्य अधिकृत यज्ञ पन्त तथा धार्मिक अगुवा हिरा शाही सहभागी हुनुभएको थियो। प्यानल छलफलको सहजीकरण सञ्चारकर्मी गोविन्द नागाले गर्नुभएको थियो।गुर्भाकोट नगरपालिका–८ स्थित डल्फिन होटलमा आयोजित कार्यक्रममा समुदायमा विद्यमान हानिकारक सामाजिक मान्यताहरू हटाउँदै आमा र बालबालिकाको स्वास्थ्य तथा पोषण सुधार गर्न धार्मिक तथा सामुदायिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालिएको थियो।
































