

२८ फागुन, सुर्खेत
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ निवासी १६ वर्षीया बालिका इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाप्रति गुर्भाकोट नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ साल फागुन २३ गते बिहान करिब ९ बजे गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी इनिसा विकमाथि वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिदपार्क नजिकको जंगल क्षेत्रमा सामूहिक बलात्कारपछि हत्या गरिएको घटनाले गम्भीर चिन्ता उत्पन्न भएको जनाएको हो।
नगरपालिकाले नाबालिका इनिसा विक माथि भएको यस्तो अमानवीय र निन्दनीय अपराधको घोर भर्त्सना गर्दै घटनामा संलग्न दोषीको यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ। निर्दोष बालिकामाथि गरिएको यस्तो क्रूर र अमानवीय व्यवहार मानवता विरोधी कार्य भएको उल्लेख गर्दै यस्ता घटनाहरु पुनः दोहोरिन नदिन समाजका सबै पक्ष—सुरक्षा निकाय, नागरिक समाज, अभिभावक तथा सरोकारवालाले अझ बढी सजग र जिम्मेवार बन्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ।

समाज आधुनिक र विकसित भएको दाबी गरिए पनि महिला तथा बालिकाहरु अझै असुरक्षित रहनु अत्यन्त चिन्ताजनक विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, नगरपालिकाले मृतक इनिसा विकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

































