
२६ फागुन,सुर्खेत-
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ३ मा रहेको कालिका माध्यमिक विद्यालय, धारपानीको विद्यालय व्यवस्थापन समितिको (बि.व्य.स) अध्यक्षमा किरण खड्का पुनः सर्वसम्मत रूपमा चयन हुनु भएको छ ।उहाँलाई दोस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। गत पौष ४ गते सम्पन्न अभिभावक भेलाबाट अभिभावकहरूको विश्वास र समर्थन प्राप्त भएपछि विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि कानुनी प्रावधानअनुसार समितिका केही सदस्यहरू मनोनयन गरी गुर्भाकोट नगरपालिकामा पठाइएको थियो। उक्त मनोनयनलाई गुर्भाकोट नगरपालिकाको शिक्षा समितिको फागुन ६ गते बसेको बैठकले अनुमोदन गरेको थियो।

शिक्षा समितिबाट अनुमोदन भएपछि विद्यालय व्यवस्थापन समितिको औपचारिक प्रक्रिया पूरा भई किरण खड्कालाई कालिका मावि धारपानीको विव्यस अध्यक्षमा दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा चयन गरिएको हो। पुनः अध्यक्षमा चयन भएपछि खड्काले विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गक्र्नु भएको छ। अभिभावकहरूको विश्वास र मायाले आफूलाई पुनः जिम्मेवारी सम्हाल्ने अवसर दिएको भन्दै उहाँले यसलाई विद्यालयको विकास र सुधारका लागि ठूलो जिम्मेवारीका रूपमा लिएको बताउनु भएको छ।

उहाँले अघिल्लो कार्यकालमा सीमित स्रोत–साधन र विभिन्न चुनौतीका बाबजुद विद्यालयको शैक्षिक वातावरण सुधार, व्यवस्थापन सुदृढीकरण तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा सकेजति प्रयास गरिएको बताउनु भयो। उहाँले केही योजनाहरू अधुरा रहे पनि ती योजनाहरूलाई दोस्रो कार्यकालमा निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा अगाडि बढाइने उल्लेख गर्नु भएको छ।

अध्यक्ष खड्काले विद्यालयको समग्र विकास, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षक, अभिभावक र सबै सरोकारवालाको सहकार्य अत्यन्त आवश्यक रहेको बताउनु भएको छ। साथै विद्यालयले बनाउने योजनाहरू मार्गदर्शनका रूपमा रहने र तिनको सफल कार्यान्वयनका लागि सबैको सक्रिय सहभागिता र सहयोग आवश्यक हुने उहाँको विश्वास छ। उहाँले आगामी दिनमा सबैको साथ, विश्वास र सहयोगका साथ विद्यालयलाई अझ व्यवस्थित, गुणस्तरीय र उदाहरणीय शैक्षिक संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको पनि बताउनु भएको छ।
































