२४ फागुन, सुर्खेत-
प्रतिनिधि सभा निर्वाचन २०८२ मा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका ध्रुवकुमार शाहीले निर्वाचन परिणामपछि मतदाता, समर्थक र कार्यकर्ताप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँ नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्कासँग ८ हजार ७ मतान्तरले पराजित हुनुभएको हो। शाहीले १८ हजार ८९० मत प्राप्त गर्दा निर्वाचित हुनु भएका विष्णु बहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गर्नु भएको थियो।

निर्वाचन परिणाम सार्वजनिक भएपछि शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै चुनावी प्रतिस्पर्धाका क्रममा आफूलाई दिएको माया, सद्भाव र समर्थनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। शाहीले आफ्नो सन्देशमा आदरणीय बुवा–आमा, दाजुभाइ–दिदीबहिनी, युवा साथीहरू तथा सम्पूर्ण मतदाताले देखाएको साथ र विश्वासका लागि धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले अपेक्षित सफलता प्राप्त नभए पनि लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्नुभएको छ।

उहाँले आगामी दिनमा अझ जिम्मेवार, सक्रिय र जनसेवामा समर्पित भएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। साथै उहाँले निर्वाचनमा विजयी हुनु भएका प्रतिनिधि सभा सदस्य विष्णु बहादुर खड्कालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ। निर्वाचन अभियानमा खटिनुहुने पार्टीका नेता, कार्यकर्ता, मतदाता, समर्थक तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै शाहीले जनताबाट पाएको विश्वास र माया नै आफ्नो प्रेरणा भएको उल्लेख गर्नुभएको छ। उहाँले उक्त विश्वासलाई जनताको सेवामार्फत प्रतिफल दिन आफू सधैं प्रतिबद्ध रहने बताउनुभएको छ।

































