सुर्खेत कार्तिक १
बडा दसैँ र तिहार तथा छट पर्व लगायतका चाड पर्वलाई लक्षित गरेर वीरेन्द्रनगरमा कालीकाेटका भेडा भेडा भित्रिएका छन् । पछिल्लो समय वीरेन्द्रनगरमा कर्णालीका माथिल्ला जिल्लाहरुमा पालिने भेडाको माग बढ्न थालेपछि भेडापालक कृषक तथा मासु व्यवसायीले भेडा भित्र्याएका हुन् । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका ललितजंग बोहोराले केही दिन अघि झण्डै ३५ लाख मूल्य बराबरका एक सय ५० वटा भेडा वीरेन्द्रनगर ल्याएका बोहोराले मंगलबारबाट भेडा बेच्नसमेत सुरु गरिसकेका छन् । बोहोराले ल्याएका भेडाको अधिकतम् तौल ३० देखि ४० केजिसम्मका रहेका छन् ।

बोहोराले वर्षेनी यही परिणाममा भेडा वीरेन्द्रनगर ल्याएर जिउँदो बेच्ने गरेको बताउछन । उनले गत बर्षको दसैँमा पनि २० लाख बराबरका एक सय ३० भेडा ल्याएर वीरेन्द्रनगरमा विक्रि गरेको बताएका छन् । हिमाली तथा पहाडी क्षेत्रका जडिबुटी पाइने पाटनमा चर्ने भएकाले भेडाको मासु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिने र बजारमा माग पनि बढ्न थालेकाले आफू भेडापालनतर्फ आकर्षित भएको बोहोरा बताउँछन् । बोहोराको परिवारले वर्षौदेखि परम्परागतरुपमा भेडापालन गर्दै आएको छ ।
































