
१९ फागुन, सुर्खेत –
आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि मतदाता मतदानबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले निर्वाचन आयोगले विशेष वैकल्पिक व्यवस्था लागू गरेको छ। मतदाता परिचयपत्र साथमा नभए पनि अन्य आधिकारिक सरकारी कागजातका आधारमा मतदान गर्न सकिने प्रावधान मिलाइएको हो।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सुर्खेतका निर्वाचन अधिकृत कैलाश प्रसाद भट्टाराईले परिचयपत्र हराएको वा साथमा ल्याउन नसकेको अवस्थामा पनि मताधिकार सुरक्षित रहने जानकारी दिनुभयो। उहाँका अनुसार नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) मध्ये कुनै एक कागजात प्रस्तुत गरेमा सम्बन्धित मतदाताले मतदान गर्न पाउनेछन्।

मतदान प्रक्रियालाई सहज, व्यवस्थित र समावेशी बनाउन आयोगले विशेष समूहका मतदाताका लागि छुट्टै सहजीकरणको व्यवस्था पनि गरेको जनाईएको छ। शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा आफैं मतदान गर्न असमर्थ व्यक्तिलाई लामो समय लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको छ। मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयंसेवक कर्मचारीको समन्वयमा उनीहरूको मतदान प्रक्रिया छिटो र सरल बनाइने निर्वाचन अधिकृत भट्टाराईले स्पष्ट पार्नुभयो।

फागुन २१ गते बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका मतदान केन्द्रमा पुगेर मतदाता आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्। साथै, मतदान केन्द्रमा भीड व्यवस्थापनलाई ध्यानमा राख्दै महिला र पुरुषका लागि अलग–अलग लाइनको व्यवस्था गरिएको उहाँको भनाई छ। क्षेत्र नम्बर १ का सम्पूर्ण मतदान स्थलमा कर्मचारी तथा सामाग्री पुगिसकेको र तयारि समेत अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत भट्टाराईले बताउनु भयो।

































