१३ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिकाले व्यवसाय कर नवीकरण सम्बन्धी सूचना जारी गर्दै नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायीलाई समयमै व्यवसाय कर नवीकरण गर्न आग्रह गरेको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को कर सप्ताह कार्यक्रम अन्तर्गत व्यवसाय दर्ता शिविरमार्फत दर्ता भएका व्यवसायहरूले चालु आर्थिक वर्षका लागि बुझाउनुपर्ने व्यवसाय कर बुझाई व्यवसाय नवीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, हालसम्म व्यवसाय करको दायरामा नआएका व्यवसायीहरूले पनि व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७९ को परिच्छेद ३ बमोजिम तथा आर्थिक ऐन २०८२ को दफा ५ को अनुसूची ३ अनुसार व्यवसायको प्रकृति हेरी कर बुझाई व्यवसाय नवीकरण गर्न नगरपालिकाले अनुरोध गरेको छ। नगरपालिकाले समयमै व्यवसाय कर नवीकरण गर्दा व्यवसाय सञ्चालनलाई कानुनी मान्यता प्राप्त हुने तथा स्थानीय राजस्व व्यवस्थापन सुदृढ हुने जनाएको छ। साथै व्यवसायीलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

































