१८ फागुन,सुर्खेत-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर १ बाट रास्ट्रीय प्रजातन्त्र पार्टीका उम्मेदवार रवि किरण हमालले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ। “अब पुरानो तालमा देश बन्दैन–परिवर्तन अनिवार्य छ” भन्ने नारासहित उहाँले स्वास्थ्यदेखि राष्ट्रिय राजनीतिसम्मका ११ प्रमुख एजेण्डा अघि सार्नु भएको हो।

हमालले स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै मेहेलकुना अस्पतालको पूर्वाधार तत्काल सम्पन्न गरी आधुनिक उपकरणसहित गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्। आधारभूत अस्पतालमा पर्याप्त जनशक्ति र उपकरण व्यवस्थापनमा जोड दिने उहाँले उल्लेख गर्नु भएको छ। शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने, कमजोर नतिजा आउने परिपाटी अन्त्य गर्ने, पूर्वाधार विकास र शिक्षकलाई राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने योजना उहाँले अघि सार्नु भएको छ।

खानेपानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा उल्लेख गर्दै प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच पुर्याउन आवाज उहाँले बताउनु भएको छ। कृषिमा सिँचाइ विस्तार, कोल्डस्टोर तथा प्रशोधन केन्द्र स्थापना, किसानका मुद्दामा सक्रिय पहल गर्ने उहाँको प्रतिबद्धता छ। भूमिहीन र सुकुम्बासीलाई तत्काल लालपुर्जा वितरण तथा अव्यवस्थित बसोबासको सुरक्षित व्यवस्थापन गर्ने, स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी जनताका समस्या समाधान गर्ने एजेण्डा पनि समेटिएको छ। सुशासनतर्फ भ्रष्टाचारविरुद्ध दृढतापूर्वक लड्ने, विभेद, ढिलासुस्ती र अकर्मण्यता अन्त्य गर्ने तथा तीव्र र दिगो विकासमा जोड दिने उहाँले बताउनु भएको छ। बेरोजगार युवालाई सीपमूलक तथा प्राविधिक तालिममार्फत रोजगारी सिर्जना गर्ने योजना पनि अघि सारिएको छ।

पर्यटन प्रवर्द्धनअन्तर्गत प्रत्येक वर्ष रामघाटमा राष्ट्रिय आँप महोत्सव आयोजना गर्ने, मालारानी गुफा, गिद्दे डाँडा, कोटको भ्यू टावर, सिद्धेदंगा (सुकेपोखरी), बुरुसे झरना, गर्पनको झरना लगायत धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाइएको छ। खेलकुद क्षेत्रमा प्रशिक्षण, मैदान, सामग्री र प्रतियोगिता सुनिश्चित गर्ने तथा राष्ट्रिय राजनीतिमा कर्णालीका मुद्दा सशक्त रूपमा संसदमा उठाउने उनको घोषणा छ। रवि किरण हमाल सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । उहाँले मतदातालाई आफ्नो एजेण्डा अध्ययन गरी परिवर्तनको पक्षमा उभिन आह्वान गर्नु भएको छ।
































