सुर्खेत असोज २६,
कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो।
कर्णाली प्रदेशका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । उहाँले खोप लगाउन छुटेकालाई पनि खोजी गरी खोप लगाउन सुझाउने बताउनुभयो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७२ जिल्ला र तीन प्रदेश पूर्णखोप घोषणा गरिएको छ । कर्णाली अब पूर्णखोप घोषणा हुने चौथो प्रदेश भएको छ ।
































