काठमाडौं असोज २१ ,
इजरायलको हमास आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ। इजरायलस्थित नेपाली राजदूतावासले बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको मृत्यु भएको हो। एकजना भने अझै पनि बेपत्ता छन्। मृत्यु हुनेमा दार्चुलाका लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकमका दिपेशराज बिष्ट रहेका छन्स भने सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा र राजन फुलारा रहेका छन्। त्यस्तै कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको निधन भएको दूतावासले जानकारी दिएको छ।
दूतावासका अनुसार विपिन जोशी अझै बेपत्ता छन्। राजदूत कान्ता रिजालले भनिन्, ‘ आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको नामसहित खबर पाएँ। उनीहरूको शवलाई कसरी व्यवस्थापन गर्ने, नेपाल पुर्याउन के गर्ने छलफल भइरहेको छ। नेपालीमात्रै होइन इजरायलीसहित अन्य देशका सयौँ नागरिकले बम बाढीमा परेर ज्यान गुमाएका छन्।’ अर्न एन्ड लर्न प्रोग्रामका लागि गत भदौमा सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थी गएका थिए। तीमध्ये १७ जना प्रत्यक्ष आक्रमणमा परेको र अन्य ३२ जना बंकरमा पस्न सफल भएको बताइएको थियो। इजरायलमा यस्ता घटना फाट्टफुट्ट भइरहे पनि यसरी नेपाली नै आक्रमणमा परेको पहिलोपटक हो।
































