१ जेठ, सुर्खेत-
गुर्भाकोट नगरपालिका वडा नम्बर ३ का विभिन्न बस्तीमा स्वच्छ खानेपानी पुर्याउने उद्देश्यसहित बहुप्रतीक्षित खानेपानी आयोजना शुभारम्भ गरिएको छ। गुर्भाकोट–३ अन्तर्गत टिमुरे, आरुखोर्ख, काहुले र सिर्वाली क्षेत्रमा खानेपानीको सहज पहुँच विस्तार गर्न ल्वाङ्गीको रुख नजिक ट्याङ्की निर्माण गरी लिफ्टिङ प्रणालीमार्फत पानी माथिल्लो डाँडासम्म पुर्याइ घरघरमा वितरण गर्ने योजना अघि बढाइएको हो।

उक्त आयोजनाबाट प्रारम्भिक चरणमा करिब १५० घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ। साथै काउलेदोभानबाट समेत पानी सप्लाइ गरी सेवा विस्तार गरिने योजना रहेको छ। २०८३ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वडा नम्बर ३ सहित गुर्भाकोटका अन्य क्षेत्रमा समेत दीर्घकालीन खानेपानी समस्या समाधानमा टेवा पुग्ने अपेक्षा गरिएको छ। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि गुर्भाकोट नगरपालिका वडा नम्बर १, २, ३ र ४ का करिब २१०० घरधुरी लाभान्वित हुने बताइएको छ।

स्थानीयवासीले आयोजनालाई वडा नम्बर ३ को विकाससँग जोडिएको महत्त्वपूर्ण पूर्वाधारका रूपमा लिएका छन्। आयोजना सम्पन्न भएपछि वर्षौंदेखिको खानेपानी अभाव हट्ने विश्वास स्थानीयको छ।
































