२८ वैशाख, सल्यान-
कालिमाटी गाउँपालिका कृषि शाखा सल्यानको आयोजनामा तथा एकीकृत कृषि प्रयोगशाला को प्राविधिक सहयोगमा सञ्चालन गरिएको माटो परीक्षण शिविर तथा निःशुल्क कृषि चुन वितरण कार्यक्रम सम्पन्न भएको छ। गत वैशाख २५ गतेदेखि सुरु गरिएको कार्यक्रम वैशाख २६ गते सम्पन्न भएको हो। शिविरमा किसानहरूबाट संकलन गरिएका कुल २१० वटा माटोका नमूनाको परीक्षण गरिएको कृषि शाखाले जनाएको छ।
परीक्षणका लागि वडा नं. २ बाट ३८ वटा, वडा नं. ३ बाट ६९ वटा, वडा नं. ४ बाट ५५ वटा, वडा नं. ५ बाट ३२ वटा तथा वडा नं. ७ बाट ९ वटा नमूना संकलन गरिएको थियो। वडा नं. ६ बाट भने कुनै नमूना प्राप्त नभएको जनाइएको छ। परीक्षण परिणाम अनुसार ७३ वटा नमूना अम्लीय, ११० वटा तटस्थ तथा २७ वटा क्षारीय माटो रहेको पाइएको छ। यस्तै, नाइट्रोजनको मात्रा १९७ वटा नमूनामा मध्यम र १३ वटा नमूनामा उच्च रहेको देखिएको छ। फस्फोरसको अवस्था सामान्य रहेको जनाइएको छ भने पोटासको स्तर ५२ वटा नमूनामा कम, ११५ वटा नमूनामा मध्यम र ४३ वटा नमूनामा उच्च पाइएको कृषि शाखाले जानकारी दिएको छ।
कार्यक्रमले किसानलाई आफ्ना खेतको माटोको वास्तविक अवस्था बुझ्न, आवश्यक पोषण व्यवस्थापन गर्न तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले यस्ता कार्यक्रमले दीगो कृषि विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, प्राविधिक टोली, कर्मचारी तथा कृषकप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
































