१८ वैशाख, सुर्खेत-
गुर्भाकोट नगरपालिकामा सञ्चालन हुँदै आएको कानुनी सचेतना कार्यक्रम वडा नम्बर ८ मा सम्पन्न भएको छ। विभिन्न वडामा चरणबद्ध रूपमा सञ्चालन गरिएको कार्यक्रमले स्थानीय नागरिकमा कानुनी ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो। वडा नम्बर ८ मा सम्पन्न समापन कार्यक्रममा वडाध्यक्ष किरण कुमार बिकको अध्यक्षता तथा नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक मैना बिकको प्रमुख आतिथ्यता रहेको थियो। विशेष अतिथिका रूपमा न्यायिक समिति सदस्य हरिमाया घर्ती र चितेन्द्र बिक सहभागी हुनुभएको थियो। कार्यक्रमको स्वागत वडा सचिव कृष्ण प्रसाद शर्माले गर्नुभएको थियो भने सञ्चालन न्यायिक समिति सदस्य लोकेन्द्र वलीले गर्नुभएको थियो।

कार्यक्रममा प्रशिक्षक मङ्गलसेन सार्कीले नेपालको संविधानअनुसार प्रचलित कानुनबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले लागू औषध, घरेलु हिंसा, सवारी ज्यान, चेक अनादर, लेनदेन, जातीय भेदभाव, जबरजस्तीकरणी, सम्बन्ध विच्छेद, सामाजिक सञ्जालको दुरुपयोग, बालविवाह तथा विद्युतीय माध्यमबाट हुने गाली–बेइज्जतीजस्ता विषयमा कानुनी प्रावधानबारे सहभागीहरूलाई सचेत गराउनुभयो। नगरपालिकाका वडा नम्बर १, २, ४, ६, ७, ८ र १२ मा सम्पन्न भएको यस कार्यक्रमले स्थानीय स्तरमा कानुनी साक्षरता बढाउन महत्वपूर्ण योगदान पुर्याएको जनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा न्यायिक समिति संयोजक मैना बिकले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले नागरिकलाई आफ्ना अधिकार र कर्तव्यबारे सचेत बनाउने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कानुनको ज्ञान बिना न्यायको पहुँच पूर्ण हुँदैन। स्थानीय तहले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्छ।” त्यस्तै, न्यायिक समिति सदस्य चितेन्द्र बिकले कानुनी सचेतनालाई सामाजिक परिवर्तनको आधारको रूपमा व्याख्या गर्दै भन्नुभयो, “जब नागरिक आफैं सचेत हुन्छन्, तब समाजमा अन्याय र विभेद स्वतः घट्दै जान्छ। यस्तो कार्यक्रमले न्यायप्रतिको विश्वास बढाउँछ।” कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष किरण कुमार बिकले समापन मन्तव्य दिँदै सहभागीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “जनताको नजिकै पुगेर कानुनी शिक्षा दिनु स्थानीय सरकारको दायित्व हो। यस कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र यसको सार्थकता पुष्टि हुन्छ।” कार्यक्रममा वडा सदस्यहरू, शिक्षक, व्यापारी, बुद्धिजीवी,ब्यापारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
































