१७ वैशाख,सुर्खेत-
गुर्भाकोट नगरपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्न पहल थालेको छ। नगर कार्यपालिकाको कार्यालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाइएको पत्रमार्फत यस्तो जानकारी गराइएको हो। पत्रमा मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार भूमि प्रशासनसम्बन्धी सेवाहरू स्थानीय तहबाट सञ्चालन गर्ने सन्दर्भमा आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न नगरपालिका तयार रहेको उल्लेख गरिएको छ। यसका लागि नगरपालिकाले सेवा सञ्चालन गर्न इच्छुक रहेको भन्दै आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

त्यस्तै, सेवा सञ्चालनसँगै मालपोत र नापी कार्यालयबाट प्राप्त हुने लाभकर तथा रजिष्ट्रेशन शुल्क स्थानीय तहमै रहने कानुनी व्यवस्था गर्न समेत नगरपालिकाले माग गरेको छ। यसले स्थानीय सरकारको आर्थिक सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखद्वारा हस्ताक्षरित उक्त पत्रमार्फत सेवा प्रवाहलाई प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन स्थानीय तहको भूमिका थप सुदृढ गर्न जोड दिइएको छ।

































