१४ पौष, सुर्खेत
गुर्भाकोट नगरपालिकामा पोषण मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। आधारभूत स्वास्थ्य केन्द्र बोटेचौरको आयोजना तथा गुर्भाकोट नगरपालिका र सुन्दर नेपाल संस्थाको समन्वय एवं सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले पोषणसम्बन्धी कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्थानीय उत्पादन, सन्तुलित आहार र व्यवहार परिवर्तनमार्फत समुदायको स्वास्थ्य सुधार गर्न सकिने बताउनुभयो। उहाँले कुपोषण न्यूनीकरणका लागि परिवारस्तरबाटै सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रदर्शनी मेला अन्तर्गत पोषणसँग सम्बन्धित लोकगीत प्रतियोगिता आयोजना गरिएको थियो, जसमा १५ समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा सातमुले आमा समूह प्रथम, लालीगुराँस स्वास्थ्य आमा समूह दोस्रो, तल्लो बोटेचौर स्वास्थ्य आमा समूह तेस्रो, पिपल चौतारी नमुना आमा समूह चौथो र भुल्के दौतरी स्वास्थ्य आमा समूह पाँचौं भएका छन्। विजेताहरूलाई क्रमशः रु १० हजार, ८ हजार, ७ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। यस्तै समूहमा भाग लिने तर कुनै पनि स्थान हासिल नगर्ने आमा समूहलाई ३००० यातायात खर्च बापत प्रदान गरिएको थियो भने कार्यक्रममा सहभागी भएका तर प्रतियोगितामा भाग नलिएको आमा समूहलाई रु २००० यातायात खर्चको व्यवस्था गरिएको थियो। कार्यक्रममा नमुना आमा समूहको पोषण सरसफाई सम्बन्धी जनचेतनामूलक नाटक समेत प्रस्तुत भएको थियो। कार्यक्रममा नमुना आमा समूहद्वारा पोषण तथा सरसफाइसम्बन्धी जनचेतनामूलक नाटक समेत प्रस्तुत गरिएको थियो, जसले सहभागीहरूलाई व्यवहारिक सन्देश दिएको थियो।

प्रमुख अतिथि नगर उपप्रमुख मैना बिकले कृषि र पोषणबीचको सम्बन्धलाई सुदृढ गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायमा सचेतना अभिवृद्धि गरी दीर्घकालीन स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष ज्ञानबहादुर खत्रीले पोषण सुधारलाई स्थानीय सरकारको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले “स्वस्थ नागरिक निर्माणका लागि सन्तुलित आहार, सरसफाइ र सचेतनाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ,” भन्दै बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। साथै उहाँले घरमै उपलब्ध हुने अन्न, सागसब्जी, फलफूलको प्रयोग बढाएर पोषण अभाव हटाउन सकिने धारणा राख्नुभयो।

वडा नम्बर ९ का अध्यक्ष ज्ञानबहादुर खत्रीको अध्यक्षता ताहा नगर उप-प्रमुख मैना बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गुर्भाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबीर बिक र सुन्दर नेपाल संस्थाका सचिव उमा भट्टराई विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो। यस्तै कार्यक्रममा वडा नम्बर ९ का जनप्रतिनिधिहरू, वडा सचिव जयप्रदा डिसी, पोषण परियोजना कार्यक्रम संयोजक चन्द्र थापा, पोषण परियोजनाका सरिता शाही तथा प्रदिपराज परियार , वडा नम्बर १३ का कावा वडा अध्यक्ष हरि गिरी, आधारभूत स्वास्थ्य केन्द्र बोटेचौरका प्रमुख नेत्र खत्री एवं कर्मचारी, विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीकामा कार्यरत कर्मचारी, मध्यपश्चिम विश्वविद्यालय कृषि विभागका उपप्राध्यापक उपकार भण्डारी गुर्भाकोट नगरपालिका कृषि तथा पशु शाखामा कार्यरत कर्मचारी, आमा समूहका अध्यक्ष एवं सदस्यहरू अगुवा कृषक लगायत शिक्षक एवं विद्यार्थीको उपस्थिति रहेको थियो।

समापनमा पोषणसम्बन्धी केही महत्वपूर्ण तथ्यहरू प्रस्तुत गरिएका थिए। सन्तुलित आहारमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज पदार्थको उचित मात्रामा समावेश आवश्यक हुने, पहिलो १ हजार दिन (गर्भावस्था देखि दुई वर्षसम्म) बालबालिकाको विकासका लागि अत्यन्त महत्वपूर्ण हुने तथा सरसफाइ र स्वच्छ पानीको प्रयोगले कुपोषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने तथ्यहरू जोड दिइएको थियो। साथै, विविध आहार, स्तनपानको प्रवर्द्धन र स्थानीय खाद्य पदार्थको प्रयोगले स्वस्थ समाज निर्माणमा टेवा पुग्ने निष्कर्ष निकालिएको थियो।

































