१३ वैशाख,सुर्खेत-
गुर्भाकोट नगरपालिका–२ स्थित जन ज्ञान भण्डार माध्यमिक विद्यालयमा चार कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम (ठूला विद्यालय) अन्तर्गत निर्माण हुन लागेको उक्त भवनको आइतबार (आज) नगर प्रमुख हस्त पुनले शिलान्यास गर्नुभएको हो। चालु आर्थिक वर्षको स्वीकृत बजेट अन्तर्गत निर्माण हुन लागेको भवनका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डिसीले जानकारी दिनुभयो। उक्त भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार सुदृढ भई शिक्षण–सिकाइ क्रियाकलाप थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पुनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शिक्षालाई प्राथमिकतामा राख्दै नयाँ कार्ययोजना तयार गरी कार्यान्वयनतर्फ अघि बढ्ने जानकारी दिनुभयो। साथै, आगामी आर्थिक वर्षलाई ‘शैक्षिक वर्ष’ का रूपमा मनाउने तयारी भइरहेको उल्लेख गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष नोख बहादुर वली, वडा नम्बर १ का अध्यक्ष राम बहादुर शाही, विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद भट्ट, प्राविधिक भानुभक्त ढकाल लगायत स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
































