१२ चैत, सुर्खेत-
गुर्भाकोट नगरपालिकामा नागरिकमा कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिएको छ। हिजो देखि वडा नम्बर १ बाट सुरु गरिएको उक्त कार्यक्रमले स्थानीय तहमा कानुनी ज्ञान विस्तार गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा सभाअध्यक्षको भूमिका राम बहादुर शाहीले निर्वाह गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गुर्भाकोट नगरपालिका न्यायिक समितिका सदस्य जितेन्द्र बिकको उपस्थिति रहेको थियो।

कार्यक्रममा कानुनविद् अधिवक्ता मङलसेन सार्कीले बाल विवाह, बहुविवाह, जातीय विभेद, जबरजस्ती करणी तथा सम्बन्ध विच्छेद जस्ता संवेदनशील विषयहरूमा विस्तृत कानुनी जानकारी तथा परामर्श दिनुभएको थियो। उहाँले यस्ता सामाजिक समस्याहरू न्यूनीकरण गर्न कानुनी सचेतना अपरिहार्य रहेको उल्लेख गर्दै समुदायस्तरमै जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, कार्यक्रममा न्यायिक सदस्य हरिमाया घर्तिले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन न्यायिक समिति सदस्य लोकेन्द्र वलिले गर्नुभएको थियो। यस्ता कार्यक्रमले स्थानीय नागरिकमा कानुनी अधिकार र कर्तव्यबारे स्पष्टता ल्याई समाजमा देखिएका विकृति हटाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
न्यायिक समितिको सक्रियता बढ्दै
गुर्भाकोट नगरपालिकाको न्यायिक समितिले पछिल्लो समय स्थानीयस्तरमा देखिने विभिन्न विवाद समाधानमा सक्रियता बढाएको छ। समितिले मेलमिलापमार्फत साना–ठूला विवाद समाधान गर्दै अदालत जाने झन्झट कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

समितिले विशेषगरी घरायसी विवाद, जग्गा सम्बन्धी झगडा, पारिवारिक विवाद तथा सामाजिक विभेदका घटनामा मध्यस्थता गर्दै आएको छ। साथै, नागरिकलाई कानुनी प्रक्रियाबारे जानकारी दिन र विवाद समाधानका वैकल्पिक उपायहरूबारे सचेतना फैलाउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको जनाइएको छ। स्थानीय तहमा न्यायिक समितिको प्रभावकारी कामका कारण समुदायमा आपसी समझदारी बढ्दै गएको र कानुनी पहुँच सर्वसाधारणसम्म विस्तार भइरहेको बताइएको छ।

































