
४ वैशाख, सुर्खेत
गुर्भाकोट नगरपालिका–८ अन्तर्गत मेहेलकुना भित्री बजार क्षेत्रमा सडक स्तरोन्नतीको काम तीव्र गतिमा अघि बढिरहेको छ। विगतमा सञ्चालनमा रहेको पुरानो भित्री बजार सडक पछिल्लो समय अगाडिको नयाँ ट्र्याक खुलेर पक्कि बाटो संचालनमा आएपछि ओझेलमा परेको थियो। अहिले सोही ऐतिहासिक सडकलाई पुनः व्यवस्थित गर्दै RCC ढलान कार्य धमाधम भइरहेको छ।

वडा नम्बर ८ का वडाध्यक्ष किरण कुमार बिकले निर्माण कार्यको स्थलगत अनुगमन गर्दै कामलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उहाँका अनुसार सडक निर्माण सम्पन्न भएपछि स्थानीय बजार व्यवस्थापन, भित्री क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा सम्भावित विपद् व्यवस्थापन र उद्धार कार्यमा समेत सहजता आउने विश्वास गरिएको छ। साथै यसले पुरानो बजारको ऐतिहासिक पहिचानलाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले भने निर्माण कार्यको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। सडक बीचमा रहेका बिजुलीका पोलहरू नहटाइएमा सडक साँघुरो हुने भएकाले सम्बन्धित निकायले समयमै पहल गर्नुपर्ने उनीहरूको माग छ।

यसैबीच, वडा अन्तर्गत अन्य विकास निर्माणका कामहरू पनि अघि बढिरहेका छन्। विभिन्न टोलमा नाली निर्माण, खानेपानी लाइन विस्तार तथा सडक मर्मत जस्ता कार्यहरू सञ्चालनमा रहेका छन्। साथै केही स्थानमा सडक बत्ती जडान र सार्वजनिक स्थलको सरसफाइ अभियानलाई समेत प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ। विकास निर्माणका यस्ता गतिविधिहरूले वडा नम्बर ८ लाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने विश्वास लिइएको छ।

































