
१ वैशाख, सुर्खेत-
स्वर्गीय चन्द्रबहादुर बुढाको सम्झनामा गुर्भाकोट नगरपालिकामा सातौँ चन्द्र स्मृति कप–२०८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। वडा नम्बर ७ स्थित गोकुलपुर मिनी रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख हस्त पुनले पानसमा दीप प्रज्वलन गर्दै गर्नुभएको हो। मेहलकुना फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता क्लबका अध्यक्ष काशी थापा मगरको अध्यक्षता तथा नगरप्रमुख हस्त पुनको प्रमुख आतिथ्यतामा सुरु भएको हो। स्वागत मन्तव्य राजेन्द्र शर्माले राख्नुभएको थियो।

उद्घाटन समारोहमा सांस्कृतिक नृत्य प्रस्तुतिले थप रौनक थपेको थियो। उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का पूर्व वडाध्यक्ष बिर्खबहादुर नेपाली,वर्तमान वडाध्यक्ष वासुदेव शर्मा,वडा नम्बर ८ का वडाध्यक्ष किरणकुमार बिक, नगर उपप्रमुख मैना बिक,नगर प्रमुख हस्त पुन लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष बिर्खबहादुर नेपाली र वडा नम्बर ७ का वर्तमान वडा अध्यक्ष वासुदेव शर्माले चन्द्रस्मृति कपको सुरुवाती चरणहरू स्मरण गर्दै तत्कालीन समयमा आफूहरू पनि जिम्मेवारीमा रहेर काम गरेको स्मरण गर्नुभएको थियो। साथै उहाँहरूले खेललाई यहाँसम्म ल्याइ पुर्याउनको लागि साथ र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै पछिल्लो समय चन्द्रस्मृति कपबाट सञ्चालन भएको यस खेलले स्थानीय स्तरमा खेलमा रुचि राख्ने व्यक्तिहरूलाई आफूसँग भएको प्रतिभा प्रस्फुटन गर्ने माध्यम बनेको बताउनु भएको थियो।

यस्तै कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष किरणकुमार बिकले शुभकामना मन्तव्य राख्दै चन्द्रस्मृति कप सफल बनाउनको लागि हरेक वर्ष आयोजक टिमले विभिन्न क्षेत्र तथा व्यक्तिहरूसँग आर्थिक सहयोग संकलन गरी चन्द्र स्मृति कप सञ्चालन गरेको स्मरण गर्दै आगामी दिनबाट चन्द्रस्मृति कप आयोजना गर्ने आयोजक मेलकुना फुटबल क्लबले चन्द्रस्मृति कप अक्षय कोष स्थापना सोही कोषमा जम्मा हुने रकमबाट चन्द्रस्मृति कप सञ्चालन गर्न सुझाव दिनुभएको थियो। साथै उहाँले चन्द्रस्मृति कप सञ्चालनका लागि मेहलकुना फुटबल क्लबले अग्रसरता देखाएमा आफूले रु ५० हजार रुपैयाँ कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

यस्तै शुभकामना मन्तव्यकै क्रममा नगर उपप्रमुख मैना विकले हरेक वर्ष सञ्चालन भइरहेको चन्द्र स्मृति कपले खेलाडीमा भएको खेलप्रतिको रुचि र चाहनालाई प्रस्फुटन गर्ने माध्यम भएको भन्दै खेल सञ्चालनका लागि थप सहजता होस् भन्ने हेतुले नगरपालि कार्यपालिकाले निर्णय गर्दै चन्द्रस्मृति कप २०८३ सञ्चालनका लागि रु ५ लाख बजेट विनियोजन गरेको बताउनुभएको थियो।

यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख हस्तपुनले खेलमा हारजित स्वाभाविक भएकाले अनुशासनमा रही नीति नियमभित्र रहेर खेल खेल्न सहभागी सम्पूर्ण टिमलाई आग्रह गर्नुभएको थियो। साथै उहाँले स्वर्गीय चन्द्रबहादुर बुढाको सम्झना गर्दै चन्द्र स्मृति कपबाट यो खेल सुरु हुनुभन्दा अगाडि खेल कसरी सञ्चालन भइरहेको थियो भन्ने विषयमा समेत प्रकाश पार्नुभएको थियो।

वक्ताहरूले खेलकुदले समाजमा एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धा विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै चन्द्र स्मृति कपले स्थानीय युवामा लुकेको प्रतिभा उजागर गर्न ठूलो योगदान पुर्याएको धारणा राख्नुभयो। अध्यक्ष काशी थापा मगरले वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउँदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। 
औपचारिक कार्यक्रमपछि व्यापारी टिम र कर्मचारी टिमबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो, जसमा व्यापारी टिम विजयी भयो। यस प्रतियोगितामा पुरुष फुटबल तथा ब्याडमिन्टन खेल समावेश गरिएका छन्। भोलिदेखि सहभागी टिमहरूबीच प्रतिस्पर्धात्मक खेलहरू सुरु हुनेछन् भने खेलहरू “गोल नेपाल डट कम” मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र नभई अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता प्रतियोगिताहरूले स्थानीय स्तरमा खेल संस्कृतिको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रम सञ्चालन सञ्चार उद्यमी सूर्यदीप रेग्मीले गर्नुभएको थियो।




























