
१ वैशाख, काठमाडौं-
आजदेखि विसं २०८३ साल प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो ।
आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । नयाँ वर्षको अवसरमा प्रधानमन्त्रि बालेन्द्र शाह,राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ठ व्यक्तित्वले शुभकामना सन्देशमार्फत नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना व्यक्त गर्नु भएको छ।



























