२९ चैत, सुर्खेत
गुर्भाकोट नगरपालिकामा छालारोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। वडा नम्बर ८ स्थित सिटीहलमा आयोजित उक्त शिविरमा १७८ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो। गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नाजरेत सोसाइटी नवज्योति केन्द्र सुर्खेतको सहकार्यमा सञ्चालन गरिएको शिविरमा छालासम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचार गरिएको थियो।

कार्यक्रममा नगरप्रमुख हस्त पुनले लामो समयपछि यस्तो विशेषज्ञ सेवा उपलब्ध गराइएको उल्लेख गर्दै छालासम्बन्धी समस्या देखिएमा बेवास्ता नगरी चिकित्सकसँग परामर्श लिन आग्रह गर्नुभयो। यस्तै, स्वास्थ्य शाखा प्रमुख घर्तीले पालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
छालारोगबारे केही महत्वपूर्ण जानकारी:-
छालारोग विभिन्न कारणले देखिन सक्छ, जसमा संक्रमण, एलर्जी, फंगल इन्फेक्सन, सरसफाइको कमी तथा वातावरणीय प्रभाव प्रमुख हुन्।
सामान्य लक्षणहरू:
छालामा डाबर, राता दाग वा फोका देखिनु
अत्यधिक चिलाउने वा पोल्ने
छाला सुख्खा भएर फुट्नु
घाउ वा संक्रमण फैलिनु
प्रमुख छालारोगका प्रकार:
-दाद (फंगल संक्रमण)
-एलर्जीजन्य छालारोग
-एक्जिमा
-सोरायसिस
उपचार तथा सावधानी:
-सरसफाइमा विशेष ध्यान दिनु
-व्यक्तिगत सामग्री (तौलिया, कपडा) साझा नगर्नु
-चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्नु
-लामो समयसम्म समस्या रहिरहेमा विशेषज्ञसँग जाँच गराउनु
विशेषज्ञहरूका अनुसार छालारोग प्रारम्भिक अवस्थामै पहिचान गरी उपचार गरेमा जटिलता हुनबाट बच्न सकिन्छ। यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।





























