२८ चैत, सुर्खेत-
बडाखोली युनाइटेड पब्लिक स्कुल, गुर्भाकोट–६, सुर्खेतमा आयोजित नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम–२०८२ सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका प्रिन्सिपल हेमन्त डिसीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति र आगामी योजनाबारे जानकारी गराउनुभयो। सो अवसरमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूको नतिजा प्रकाशन गरिएको थियो।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै समर्पित शिक्षकहरू शर्मिला बराल, गङ्गा रोका, लक्ष्मी बिक र कार्यालय सहयोगी पुर्णिमा परियारलाई सम्मान पत्र प्रदान गरी हौसला प्रदान गरिएको थियो। साथै विद्यालयका पूर्व सञ्चालक तिलक डिसी तथा शुभचिन्तकहरू खिम रेग्मी, केसर वली र केसरमान रोकायलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा कक्षा ५ का विद्यार्थीहरूलाई ग्राजुएसन क्याप र मायाको चिनो प्रदान गरिनुका साथै अभिभावकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको दृश्य अत्यन्त भावुक र प्रेरणादायी बनेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा “The Luckiest Parent of the Year” अन्तर्गत गरिएको गोलाप्रथाबाट छात्रा किन्जल परियारकी अभिभावक कोपिला परियारले नगद रु. ३,३३३/- प्राप्त गर्न सफल हुनुभयो। विद्यालयकी संस्थापक भुमिसरा वलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य कृष्ण शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रम सञ्चालन छत्र वलीले गर्नुभएको थियो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, अभिभावक तथा शुभचिन्तकप्रति विद्यालयले हार्दिक धन्यवाद व्यक्त गरेको छ।



























