
२८ चैत,सल्यान-
जलवायु अनुकूल मैत्री तीन दिने अगुवा कृषक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२/१२/२६ गतेबाट सुरु भएको तालिम आज २८ गते कृषि शाखा प्रमुख ओजस्वी उपाध्यायको अध्यक्षता तथा कालिमाटी गाउँपालिका वडा नं. ३ का अध्यक्ष शिवा केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिममा सहभागी कृषकहरूलाई जलवायु परिवर्तनअनुकूल खेती प्रणाली, रोग तथा कीरा व्यवस्थापन, माटो व्यवस्थापन, बेमौसमी तरकारी खेती प्रविधि, जलवायु मैत्री कृषि अभ्यास, पानी तथा स्रोत व्यवस्थापन, गुणस्तरीय नर्सरी निर्माण, जैविक विषादी तयार गर्ने तरिका लगायतका विषयमा व्यवहारिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो। यसैगरी विभिन्न बालीका जातहरूको गुण र विशेषता तथा सुरक्षित रूपमा विषादी प्रयोग गर्ने विधिबारे समेत जानकारी गराइएको थियो। तालिमले कृषकहरूलाई आधुनिक तथा दिगो कृषि प्रणालीतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।

तालिमका सहभागी कृषकहरूलाई निःशुल्क रूपमा टमाटर (गौरव, सिर्जना), बोडी, काक्रो (भक्तपुरे) लगायतका तरकारीका बीउ वितरण गरिएको थियो। साथै बाली संरक्षणका लागि १६ लिटरको स्प्रेयर ट्याङ्की, सुरक्षित विषादी प्रयोगका लागि एप्रोन सेट, जैविक तथा रासायनिक विषादी र आवश्यक पोषक तत्वहरू समेत वितरण गरिएको जानकारी दिइएको छ।

कार्यक्रममा सहभागी कृषकहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै उत्पादन वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकले आगामी दिनहरूमा पनि यस्ता व्यवहारिक तथा उपयोगी तालिमहरू निरन्तर सञ्चालन गरिने र कृषि क्षेत्रलाई थप उत्पादनमुखी तथा जलवायु अनुकूल बनाउने अपेक्षा व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, कृषक तथा सहयोगीहरूलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।



























