२३ चैत, सुर्खेत-
गुर्भाकोट युनाइटेड बोर्डिङ स्कुलको १९औँ वार्षिकोत्सव तथा वार्षिक नतिजा प्रकाशन कार्यक्रम विविध शैक्षिक तथा सांस्कृतिक गतिविधिसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन प्रमुख अतिथि,वडा नम्बर ९ का वडाध्यक्ष ज्ञान बहादुर खत्री,र जनसेवा मावि सहारेका बिब्यस अध्यक्ष किरण वली विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा शिक्षिका बिना मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

विद्यालयले वर्षभरि सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सो अवसरमा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। शैक्षिक सत्र २०८२/८३ अन्तर्गत कक्षा पिजीदेखि कक्षा १२ सम्मका विद्यार्थीमध्ये नियमित हाजिरी, सरसफाइ, अनुशासन, खेलकुद, हस्तलेखन लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष रूपमा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमकै अवसरमा विद्यार्थीहरूले तयार पारेका विभिन्न वैज्ञानिक सामग्रीसहितको विज्ञान प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूको सिर्जनात्मकता, अनुसन्धान क्षमता र व्यवहारिक ज्ञानलाई उजागर गरेको थियो।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार सोनीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि, सुधारका प्रयास तथा आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा जनसेवा मावि सहारेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष किरण वली, पूर्व शिक्षक तथा गायक यदु लामिछाने, विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक कार्यक्रमतर्फ थारु नृत्यसहित विभिन्न नृत्य तथा प्रस्तुति राखिएका थिए, जसले कार्यक्रममा थप आकर्षण थपेको थियो।

यसैबीच, कार्यक्रममा वक्ताहरूले आधुनिक शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप, प्रविधिमैत्री शिक्षा, नैतिक मूल्य र जीवनोपयोगी शिक्षाको महत्त्वमाथि जोड दिएका थिए। विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउँदै जिम्मेवार नागरिकका रूपमा विकास गर्न विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरिएको थियो।




























