१३ चैत, सुर्खेत-
आगामी २०८३ साल वैशाख १ गतेदेखि सञ्चालन हुने स्व. चन्द्र स्मृति कप–२०८३ फुटबल प्रतियोगिताबारे आज गुर्भाकोट नगरपालिका सभाहलमा पत्रकार सम्मेलन सम्पन्न भएको छ।

पत्रकार सम्मेलनमा बोल्दै खेल समिति संयोजक राजेन्द्र शर्मा तथा गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनले प्रतियोगिताको इतिहास, प्रारम्भिक चरणदेखि हालसम्म आइपुग्दाका उतारचढाव तथा आगामी दिनमा खेललाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने योजनाबारे प्रकाश पार्नुभयो। उहाँहरूका अनुसार यस वर्षको प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउने लक्ष्य राखिएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख रुपैयाँ र द्वितीय हुने टिमलाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार यस पटक करिब २० वटा टिम सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हस्त पुनसहित वडा नम्बर ७ का अध्यक्ष वासुदेव शर्मा, वडा नम्बर ८ का अध्यक्ष किरणकुमार बिक, कार्यपालिका सदस्य चितेन्द्र बिक, विभिन्न वडा सदस्यहरू, पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, सुर्खेतमा क्रियाशील पत्रकारहरू, व्यवसायी, बुद्धिजीवी, खेलप्रेमी तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। “हाम्रो खेल, हाम्रो गौरव” भन्ने भावनालाई आत्मसात गर्दै आयोजना हुन लागेको यस प्रतियोगिताले स्थानीय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।





























