१२ चैत,सुर्खेत-
गुर्भाकोट नगरपालिका वडा नम्बर ९ मा पोषण सुधारसँगै आयआर्जन बढाउने लक्ष्यसहित आमा समूहका महिलालाई व्यवसायिक उद्यमीतर्फ उन्मुख गराउने पहल गरिएको छ। केयर नेपाल र आइडीइ नेपाल संस्थाको आर्थिक तथा प्राविधिक सहयोग तथा सुन्दर नेपाल संस्थाको सहकार्यमा सञ्चालन भएको पोषण परियोजना अन्तर्गत वडा भित्र रहेका ११ आमा समूहमध्ये पाँच समूहका सदस्यहरूबाट पाँच जना महिलालाई छनोट गरी उनीहरूलाई उद्यमशीलतामा अघि बढाउने उद्देश्यले आवश्यक सामग्री वितरण गरिएको हो।

छनोटमा परेका तल्लो बोटेचौर आमा समूहकी देवी कामी, अञ्जुली आमा समूहकी फुलमाया डाँगी, सम्झना आमा समूहकी दुर्गा थापा, नमुना आमा समूहकी आशा रोका र सृजनशील आमा समूहकी कश्मिरा सुनारलाई व्यवसायिक कुखुरा पालनका लागि सामग्री प्रदान गरिएको हो। प्रति व्यक्ति ७३ वटा बोइलर कुखुराका चल्ला, पानी खाने भाँडा चारवटा, दाना खाने भाँडा दुईवटा, भिटामिन, खोर व्यवस्थापनका लागि ६ मिटर जाली, झ्याल–ढोकाका चुक्कुल दुईवटा, तीन क्यारेट अण्डा तथा ३ क्विन्टल बराबरको छ बोरा दाना उपलब्ध गराइएको छ। साथै ढुवानी खर्चस्वरूप जम्मा ३,५०० रुपैयाँ समेत व्यवस्था गरिएको छ।

उक्त सामग्री वितरण कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष ज्ञानबहादुर खत्री नगर स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्ती, आधारभूत स्वास्थ्य केन्द्र बोटेचौरका प्रमुख नेत्रबहादुर खत्री, वडा सचिव जयप्रदा डिसी, स्वास्थ्यकर्मी तथा सुन्दर नेपाल संस्थाका प्रतिनिधि प्रदीप सुनारलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमले पोषण सुधारसँगै स्थानीय महिलालाई आत्मनिर्भर बनाउँदै आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।





























