११ चैत, सुर्खेत-
“स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने सन्देशसहित गुर्भाकोट नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयन संरचना (मोडालिटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गुर्भाकोट–१२ भट्टेचौर स्थित सामुदायिक होमस्टेमा आयोजित उक्त कार्यक्रम नगरप्रमुख हस्त पुनको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोख्रेल, विभिन्न शाखा प्रमुखहरू, वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सामी कर्णाली प्रदेश संयोजक अनन्त चौधरीले सुरक्षित आप्रवासन कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया, लक्षित सेवाग्राही तथा उपलब्धिहरूका बारेमा विस्तृत जानकारी गराएका थिए। उनले सामी कार्यक्रमका मुख्य सेवाहरूबारे प्रकाश पार्दै सुरक्षित, व्यवस्थित र जानकारीमूलक वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताउनु भयो।

उहाँका अनुसार सामी कार्यक्रम सन् २०११ मा नेपालका तीन जिल्लाबाट सुरु भई २०१३ सम्म आइपुग्दा १८ जिल्लामा विस्तार भएको थियो। त्यसयता कार्यक्रम क्रमशः अन्य जिल्लाहरू र स्थानीय तहमा समेत विस्तार हुँदै आएको छ। कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्तीले गर्नु भएको थियो। हाल कर्णाली प्रदेशको ५२ वटा स्थानिय तहमा सामी कार्यक्रम संचालन भएको छ।

समापनका अवसरमा नगरप्रमुख हस्त पुनले गुर्भाकोट नगरपालिकामा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै साझेदार संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले आगामी दिनमा यस्ता जनचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिन पालिका पूर्ण रूपमा समन्वय र सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो।




























