११ चैत, सुर्खेत-
अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम अन्तर्गत भेरीगंगा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ। करूणा फाउन्डेशन र एनएमबी बैंकको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउन १२ थान ह्वीलचेयर, ८ थान बैशाखी, २ थान सेतो छडी तथा ३ थान सजिलो शौचालय वितरण गरिएको नगर प्रमुख यज्ञ प्रसाद ढकाले जानकारी दिनुभयो। सहायक सामग्री प्राप्त गरेपछि लाभग्राहीहरूले दैनिक जीवनमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनका लागि यस्ता सहयोगात्मक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले राज्य र विभिन्न संघसंस्थाबीचको सहकार्यले सामाजिक समावेशीकरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघसंस्था तथा व्यक्तिहरूप्रति नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ।





























