९ चैत,सल्यान-
कालिमाटी गाउँपालिकामा खाद्यान्न बालीमा लाग्ने रोग तथा किरा पहिचान र व्यवस्थापन सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पूर्ण वडाहरूमा सफलतापूर्वक सम्पन्न भएको छ। कृषकहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय स्तरमै कृषि उत्पादन वृद्धि र बाली संरक्षणमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका वडाध्यक्ष तथा वडा सदस्यहरूको विशेष उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो। साथै, कृषक दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम प्रभावकारी बनेको आयोजकले जनाएको छ। तालिमका क्रममा कृषकहरूलाई बालीमा देखिने विभिन्न रोग तथा किराहरूको पहिचान, तिनको नियन्त्रणका उपाय तथा आधुनिक कृषि प्रविधिबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। प्रशिक्षकहरूले स्थानीय परिवेशअनुसार उपयोगी प्रविधि र समाधानहरू प्रस्तुत गर्दै कृषकहरूको जिज्ञासाको समेत समाधान गरेका थिए।

कार्यक्रमले कृषकहरूको ज्ञान र सीप अभिवृद्धि गर्दै उत्पादन वृद्धि र बाली संरक्षणमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, प्रशिक्षक तथा सम्पूर्ण सहभागीहरूलाई कालिमाटी गाउँपालिका कृषि शाखाले हार्दिक धन्यवाद व्यक्त गरेको छ। “समृद्ध किसान, सुरक्षित उत्पादन” भन्ने नारासहित सम्पन्न कार्यक्रमले कृषि क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

































