
९ चैत, सुर्खेत
सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत मेहेलकुना बजारमा गरिएको बजार अनुगमनका क्रममा म्याद सकिएका विभिन्न खाद्यान्न सामग्री बरामद गरी नष्ट गरिएको छ।


उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले बजारका पसलहरूमा निरीक्षण गर्दा ठूलो मात्रामा म्याद नाघेका वस्तु फेला पारेको हो। टोलीमा प्रशासकीय अधिकृत देव प्रसाद आचार्य, शाखा अधिकृत सतेन्द्र कुमार यादव, ऋषभ रञ्जन, लेखा अधिकृत प्रतिमा थानी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका सन्तोष घिमिरे, गुणस्तर तथा नापतौल कार्यालयका सिनियर मिस्त्री शिव प्रसाद चौधरी, इलाका प्रशासन कार्यालय मेहेलकुनाका प्रमुख हरि प्रसाद देवकोटा तथा प्रहरी चौकी मेहेलकुनाका प्रमुख गणेश बहादुर कडायत लगायतको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा चाउमिन मसला, चिकेन मसला, चाट मसला, करेन्ट मसला, मम मसला, बिस्कुट, ग्लुकोज, करेन्ट खुर्सानी, सब्जी मसला, भिक्टोरिया मसला, बदाम, पापड, गरम मसला, बिरयानी मसला लगायतका खाद्यान्न सामग्री म्याद सकिएको अवस्थामा भेटिएको थियो। टोलीले ती सम्पूर्ण सामग्रीहरू सम्बन्धित व्यवसायीको उपस्थितिमै नष्ट गरेको जनाएको छ। अनुगमनका क्रममा करिब २० हजार रुपैयाँ बराबरका म्याद सकिएका सामान नष्ट गरिएको जानकारी दिइएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता सामग्रीको बिक्री वितरण रोक्न नियमित अनुगमनलाई थप कडाइ गरिने सम्बन्धित निकायले जनाएको छ। साथै, व्यवसायीहरूलाई म्याद सकिएका वस्तु बिक्री नगर्न तथा उपभोक्तालाई सचेत रहन आग्रह गरिएको छ।
































