८ चैत, सुर्खेत-
गुर्भाकोट नगरपालिकाको समन्वय तथा ली-बर्ड र Welthungerhilfe (WHH) को साझेदारीमा सञ्चालित ‘प्रारम्भ परियोजना’ ले नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्र (EOC) सुदृढिकरणका लागि विभिन्न विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको छ। उक्त सहयोगमार्फत EOC लाई प्रविधि, उपकरण तथा पूर्वतयारीका दृष्टिले सक्षम बनाउने लक्ष्य राखिएको छ, जसले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। नगर प्रमुख हस्त पुन,उपप्रमुख मैना बिक,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल,प्रशासन शाखा प्रमुख कृष्ण प्रसाद शर्मा लाई विभिन्न विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो।

यस पहलले पालिकाको विपद् पूर्वतयारीलाई मजबुत बनाउनुका साथै विपद् सम्बन्धी सूचना संकलन, विश्लेषण र छिटो प्रसारणमा सहयोग पुर्याउनेछ। साथै, विभिन्न निकायबीच समन्वयलाई सहज बनाउँदै आपतकालीन अवस्थामा शीघ्र, प्रभावकारी र व्यवस्थित प्रतिकार्य सञ्चालन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यसले स्थानीय स्तरमा जोखिम न्यूनीकरणका गतिविधिहरूलाई सुदृढ गर्दै समुदायको समग्र सुरक्षा र लचिलोपन बढाउने लक्ष्य लिएको छ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा डेस्कटप कम्प्युटर, प्रिन्टर, दराज, फायर एक्स्टिङ्ग्युसर, फायर बल, रुख काट्ने आरा मेसिन, बेल्चा, गैती, क्रोबार, डोरी, थ्रो ब्याग लगायतका उपकरणहरू रहेका छन्। यी सामग्रीहरू खोज तथा उद्धार, आगलागी नियन्त्रण, आकस्मिक प्रतिक्रिया तथा दैनिक समन्वय कार्यमा उपयोगी हुनेछन्।

परियोजनाअन्तर्गत प्रदान गरिएको यस सहयोगले गुर्भाकोट नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै विपद्का समयमा छिटो निर्णय लिन, स्रोत परिचालन गर्न र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। यसमार्फत स्थानीय तहमा दिगो विपद् व्यवस्थापन प्रणाली विकास गर्ने दिशामा एक महत्वपूर्ण कदम चालिएको जनाइएको छ।
































