७ चैत,सल्यान-
सल्यानको कालिमाटी गाउँपालिकाले वडा नं. १ लक्ष्मीपुरस्थित स्वास्थ्य चौकीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। जारि सूचना अनुसार आयुर्वेद चिकित्सकसहित सञ्चालन हुने उक्त शिविरबाट स्थानीय बासिन्दाले विभिन्न रोगहरूको निःशुल्क उपचार सेवा पाउनेछन्। शिविरमा अम्लपित्त, ग्यास्ट्रिक, पेटसम्बन्धी समस्या, श्वासप्रश्वास रोग, कास, पिनास, छातीसम्बन्धी रोग, हाडजोर्नी तथा नसासम्बन्धी समस्या, पुरानो वाथ, पत्थरी, मधुमेह र उच्च रक्तचापजस्ता रोगहरूको उपचार गरिनेछ। साथै, पाइल्स, फिसर, फिस्टुलाजस्ता गुदद्वारसम्बन्धी रोगहरूको स्क्रिनिङ सेवा पनि उपलब्ध हुने जनाइएको छ।

यसैगरी, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन सेवा अन्तर्गत स्वास्थ्य परीक्षण तथा परामर्श दिइनेछ भने स्तनपायी आमाहरूलाई दूधवर्धक औषधि वितरण गरिने कार्यक्रमसमेत रहेको छ। उक्त शिविर २०८२ चैत ०९ गते सोमबार बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने छ। गाउँपालिकाले सबै स्थानीयलाई सेवा लिन उपस्थित हुन अनुरोध गरेको छ।
































