
६ चैत, सुर्खेत-
सुर्खेतको सिम्ता गाउँपालिकाले स्थानीय व्यवसायीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले वडा–वडामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत कार्यक्रम अनुसार यस्तो शिविर सञ्चालन गर्न लागिएको जनाएको हो।

गाउँपालिकाका अनुसार वडा नं. १ देखि ९ सम्म क्रमशः विभिन्न मिति र स्थानमा शिविर सञ्चालन हुनेछ। शिविरमार्फत स्थानीय व्यवसायीहरूले आफ्ना व्यवसाय दर्ता, नवीकरण तथा सम्बन्धित प्रक्रिया सहज रूपमा पूरा गर्न सक्नेछन्। गाउँपालिकाले सम्बन्धित वडाका व्यवसायीलाई तोकिएको मिति र स्थानमा अनिवार्य उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

तालिका अनुसार : चैत ९ गते वडा नं. १ को बाँखर्क बजार , ११ गते वडा नं. २ को काफलकोट, १२ गते वडा नम्बर ३ को देउली बजार,१५ गते ४ नम्बर वडा कार्यालय,१६ गते ५ नम्बर वडा कार्यालय, १७ गते वडा नम्बर ६ जामुनेबजार,१८ गते ७ नम्बर वडा कार्यालय,२० गते ८ नम्बर वडा कार्यालय र २२ गते ९ नम्बर वडा कार्यालयमा व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन हुनेछ।

गाउँपालिकाले वडा कार्यालयहरू तथा उद्योग वाणिज्य संघ भेरी उपशाखा सिम्तालाई आवश्यक समन्वय र सहजीकरण गरिदिनु हुन आग्रह गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर रानाद्वारा हस्ताक्षरित सूचनामा स्थानीय तहमा व्यवसाय व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको उल्लेख गरिएको छ।

































