
५ चैत,सुर्खेत-
कर्णाली प्रदेशअन्तर्गत गुर्भाकोट नगरपालिका वडा नं. २ का स्थानीय किसान टेक बहादुर रानाले पशुपालन व्यवसायमार्फत उल्लेखनीय आम्दानी गर्दै ग्रामीण क्षेत्रमा उदाहरणीय काम गरिरहनु भएको छ। परम्परागत खेतीपातीसँगै आधुनिक पशुपालनलाई जोड्दै आएका रानासँग हाल ९ वटा गाईभैँसी रहेका छन् भने उहाँले दैनिक करिब ५० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आउनुभएको छ।

दैनिक रूपमा उत्पादन हुने दूध स्थानीय बजारमा सहज रूपमा खपत हुने गरेको छ। यसबाट उहाँले परिवारको जीविकोपार्जन मात्र नभई बचतसमेत गर्न सफल भएको बताउनुहुन्छ। “पहिले खेतीपाती मात्र गर्दा खर्च धान्न गाह्रो थियो, अहिले दूध बिक्रीबाट नियमित आम्दानी हुन थालेपछि आर्थिक अवस्था सुधारिएको छ,” रानाले भन्नुभयो। तर, उत्पादनसँगै चुनौतीहरू पनि उत्तिकै बढ्दै गएको किसानहरूको गुनासो छ। पछिल्लो समय पशु दाना, चोकर, भुस लगायतका सामग्रीको मूल्य अत्यधिक वृद्धि हुँदा लागत बढेको छ। त्यसैगरी पशु स्वास्थ्य सेवा, औषधि तथा प्राविधिक सहयोग अभावका कारण किसानहरू समस्यामा परेका छन्। रानाका अनुसार सरकारले कृषि तथा पशुपालन क्षेत्रमा अनुदान र सहुलियतको नीति ल्याए पनि ती कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। “कागजमा धेरै योजना देखिन्छन्, तर वास्तविक किसानसम्म पुग्दैनन्,” उहाँको भनाइ छ।

केवल राना मात्र होइन, कर्णालीका धेरै दुग्ध किसानहरूले यस्तै समस्या भोग्दै आएका छन्। दूधको उचित मूल्य निर्धारण नहुँदा र बजार व्यवस्थापन कमजोर हुँदा किसानले मेहनतअनुसारको प्रतिफल पाउन सकेका छैनन्। कतिपय अवस्थामा बिचौलियाको दबाबले किसानहरू अझै मारमा पर्ने गरेका छन्। विशेषगरी ग्रामीण क्षेत्रमा पशु बीमा, सहुलियत ऋण, दाना–चोकरमा अनुदान, तथा नियमित प्राविधिक सेवा अत्यन्त आवश्यक रहेको किसानहरूको माग छ। यस्ता आधारभूत सहयोगबिना पशुपालन व्यवसायलाई दिगो र आकर्षक बनाउनु चुनौतीपूर्ण हुने देखिन्छ। कृषि तथा पशुपालनलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइने भए पनि कार्यान्वयन तहमा कमजोरी देखिँदा किसानहरू निराश बन्दै गएको अवस्था छ। विज्ञहरूका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरी लक्षित वर्गसम्म सीधै लाभ पुग्ने प्रणाली विकास गर्न आवश्यक रहेको औंल्याइएको छ।

कर्णालीजस्तो दुर्गम क्षेत्रमा कृषि र पशुपालनको ठूलो सम्भावना हुँदाहुँदै पनि पर्याप्त लगानी, बजार पहुँच र नीतिगत स्पष्टताको अभावले किसानले अपेक्षित लाभ लिन सकिरहेका छैनन्। यद्यपि, टेक बहादुर रानाजस्ता मेहनती किसानहरूले आफ्नै प्रयासबाट सफलता हासिल गर्दै अन्य किसानलाई समेत प्रेरणा दिइरहेका छन्। सरकारले यस्ता उद्यमशील किसानलाई प्रोत्साहन गर्दै प्रभावकारी अनुदान, बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउन सके ग्रामीण अर्थतन्त्र सुदृढ हुने मात्र होइन, देशमै दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने आधार समेत बलियो हुने देखिन्छ ।
































