२ चैत, सुर्खेत-
सुर्खेतको बराहताल गाउँपालिकाबाट सिकार खेल्न गएका एक समूहका व्यक्तिहरू जंगल क्षेत्रमा हराएका छन् भने एक जनाको मृत्यु भएको आशंका गरिएको छ। बराहताल गाउँपालिका–२ निवासी आसे महतराका अनुसार उनका साला नाता पर्ने ३३ वर्षीय टोपबहादुर खत्री सहितको टोली २०८२ साल फागुन २३ गते सिकार खेल्ने भन्दै घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए।

उनीहरूसँगै गएका मध्ये सुनिल समसेलीकी आमाले टोपबहादुर खत्रीको मृत्यु भएको खबर दिएको बताइएको छ। उक्त जानकारीपछि आसे महतराले २०८२ चैत २ गते बिहान करिब ९:३० बजे इलाका प्रहरी चौकी रानीघाट, सुर्खेतमा जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटनास्थल बर्दिया जिल्लाको क्षेत्रमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियालाई पनि जानकारी गराइएको छ। हाल घटनाबारे थप तथ्य बुझ्न र हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन रहेका व्यक्तिहरू:
-सुर्खेत बराहताल गाउँपालिका–१ ज्यामिरे निवासी:
-करिब २५ वर्षीय रेशम समसेली
-करिब४१ वर्षीय रबिलाल दमाई
-करिब३४ वर्षीय रामबहादुर घर्ती
-करिब३० वर्षीय सुनिल समसेली
-सुर्खेत लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली।

































