२ चैत,सुर्खेत-
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ बाट आइतबारदेखि बेपत्ता भएकी ३८ वर्षीया माया कठायत मृत अवस्थामा फेला परेकी छन्। उनको शव चिप्ले नजिकै भेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

मायासँगै बेपत्ता भएका उनका ५ वर्षीय छोरा दीपक कठायत र ११ वर्षीया छोरी आशा कठायतको भने हालसम्म अवस्था अज्ञात रहेको छ। दुवै जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा नदी आसपासका क्षेत्रमा खोजी कार्य तीव्र बनाइएको प्रहरीले जानकारी दिएको छ। आमा मृत भेटिएपछि घटनाले स्थानीय समुदायलाई थप स्तब्ध बनाएको छ भने बालबालिकाको अवस्था बारे चिन्ता बढेको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान समेत भइरहेको छ।

































