१ चैत, सुर्खेत–
सुर्खेतको गुर्भाकोटस्थित भेरी नदीमा आमा सहित एक छोरा र एक छोरी बेपत्ता भएका छन्। गुर्भाकोट नगरपालिका–१२ का वडा अध्यक्ष तुलसीप्रसाद शर्माका अनुसार आइतबार दिउँसो करिब ३ देखि ४ बजेको बीचमा उनीहरू बेपत्ता भएका हुन्। नदी किनारमा उनीहरूको झोला, कपडा र चप्पल भेटिएको जानकारी दिँदै वडा अध्यक्ष शर्माले नुहाउन नदीमा गएको बेला डुबेर वा बगेर बेपत्ता भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भयो।

घटनाको खबर प्राप्त भएपछि तत्काल खोजी कार्य सुरु गरिएको भए पनि राति परिसकेको र वर्षा भइरहेको कारण खोजीकार्यमा कठिनाइ भएको बताइएको छ। हाल इलाका प्रहरी कार्यालय छिन्चुको टोली, प्रहरी चौकी मेहेलकुना तथा सुरक्षा निकायको संयुक्त टोलीले नदी आसपास क्षेत्रमा खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ। बेपत्ता भएका तीनै जनाको पहिचान खुल्न बाँकी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

































